नेपाल–बङ्गलादेश ऊर्जा सहकार्य विस्तार हुँदै, थप २० मेगावाट बिजुली निर्यातको तयारी

काठमाडौँ, १२ मङ्सिर — नेपाल र बङ्गलादेशबीच ऊर्जा सहकार्य थप विस्तार हुने भएको छ। बङ्गलादेशले नेपालबाट हाल निर्यात भइरहेका ४० मेगावाटबाहेक थप २० मेगावाट बिजुली आयात गर्न सहमति जनाएको छ। ढाकामा बसेको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौँ बैठकले सोका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

नेपाली टोलीको नेतृत्व ऊर्जा सचिव चिरञ्जीवी चटौत र बङ्गलादेशी टोलीको नेतृत्व सचिव फर्जाना ममताजले गरेका थिए। बैठकमा नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता, विद्युतीय सवारी चार्जिङ स्टेशन, रूफटप सोलार तथा ऊर्जा परीक्षणजस्ता क्षेत्रमा बङ्गलादेशले नेपाललाई प्राविधिक सहयोग प्रदान गर्ने विषयमा पनि सहमति जुट्यो। क्षमता अभिवृद्धि कार्यक्रमलाई पनि दुवै देशले अघि बढाउने जनाइएको छ।

नेपालले ४० मेगावाट बिजुली भारतीय ग्रिडमार्फत २०८१ असोज १७ गतेदेखि बङ्गलादेश पठाइरहेको छ। नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपीसी विद्युत् निगमबीच भएको त्रिपक्षीय सम्झौता अनुसार ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइन हुँदै बिजुली प्रवाह भइरहेको छ।

बैठकले दुई देशबीच सुनकोशी तेस्रो जलविद्युत् आयोजना संयुक्त रुपमा निर्माण गर्ने विषयमा पनि छलफल गरेको छ। बङ्गलादेशले आयोजनाको लगानी मूल्यांकनका लागि विशेषज्ञ समिति गठन गर्ने र संयुक्त उपक्रममा हस्ताक्षर प्रक्रिया चाँडै टुङ्ग्याउने उल्लेख बैठकपछि जारी वक्तव्यमा गरिएको छ।

त्यस्तै, नेपाल–बङ्गलादेश ऊर्जा व्यापारका लागि प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनको प्राविधिक तथा आर्थिक अध्ययन, बङ्गलादेशी निजी क्षेत्रलाई नेपालका जलविद्युत् आयोजनामा आकर्षित गर्ने पहल, र नेपाल–भारत–बङ्गलादेशबीच त्रिपक्षीय ऊर्जा सहकार्य संयन्त्र निर्माणका लागि संयुक्त प्रयास गर्ने विषयमा सहमति भएको छ।

बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली आयात गर्ने योजना घोषणा गरिसकेको छ। नेपाल–भारतबीचका दीर्घकालीन ऊर्जा व्यापार सम्झौता तथा २०७५ मा हस्ताक्षर भएको द्विपक्षीय सहकार्य सम्झौता अनुसार ऊर्जा क्षेत्रमा निरन्तर सहकार्य विस्तार भइरहेको बैठकले जनाएको छ।

Facebook Comments Box