विधायन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौँ, ८ भदौ
सङ्घीय संसद्को विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठकको कार्यसूचीमा ‘राष्ट्रिय विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धी दफावार छलफल रहनेछ । उक्त विधेयक २०८१ पुस २३ गते राष्ट्रियसभामा दर्ता भएको थियो । त्यसपछि २०८१ फागुन ४ गते साधारण छलफल सम्पन्न भई समितिमा दफावार छलफलका लागि पठाइएको थियो ।
विधेयक अनुसार जैविक वा निर्जीव वस्तु, प्रमाण, लिखत, भौतिक वा विद्युतीय सामग्रीलगायत अनुसन्धानसँग सम्बन्धित वस्तुहरूको वैज्ञानिक परीक्षण र प्रमाण संकलनका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना गरिनेछ । यससँगै प्रयोगशालाको स्थापना, काम–कर्तव्य र अधिकार, सञ्चालक समिति गठन, परीक्षणसम्बन्धी प्रक्रिया, कार्यकारी निर्देशक र कर्मचारीको व्यवस्था, कोष तथा लेखापरीक्षण प्रणालीसमेत विधेयकमा प्रस्ताव गरिएको छ ।

