आज कुशे औँसी, पितृ सम्झना र बाबु सम्मानको दिन

काठमाडौँ, ७ भदौ

आज भाद्रकृष्ण औँसी, अर्थात् कुशे औँसी पर्व, देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ । वैदिक परम्पराअनुसार आज उखेलेको कुश वर्षभरि देवकार्य र पितृकार्यमा प्रयोग गर्न सकिने धार्मिक विश्वास छ ।

यस दिन बाबु जीवित भएकाले छोराछोरीले मनपर्ने भोजन खुवाएर सम्मान गर्छन् भने दिवङ्गत बाबुको सम्झनामा गोकर्णेश्वर, वेत्रावतीलगायत पवित्र तीर्थस्थलमा गई तर्पण, पिण्डदान र सिदादान गर्ने चलन छ ।  गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज विशेष मेला लाग्ने गरेको छ । धर्मशास्त्रविद्हरूका अनुसार आजको दिन सानो दान पनि हजारौँ गुणा फल दिने मान्यता छ ।

मोतीराम भट्टको १६०औँ जयन्ती
यसै दिन राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रमसहित मनाइँदैछ । विसं १९२३ सालमा जन्मिएका भट्टले नेपाली साहित्यमा शृङ्गार रसको विकास, आदिकवि भानुभक्तको जीवनी प्रकाशन, छापाखाना र पत्रकारिताको सुरुआत गर्ने ऐतिहासिक योगदान गरेका थिए । यस अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र विभिन्न साहित्यिक संस्थाले स्मरण कार्यक्रम आयोजना गरेका छन् ।

Facebook Comments Box