आज आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस
काठमाडौँ, ५ भदौ
आज विश्वभर आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१७ देखि प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको हो । यो दिवसले आतङ्कवादबाट पीडित भएका र त्यसबाट बाँचेकाहरुलाई सम्मान तथा समर्थन गर्नुका साथै उनीहरूको मानवअधिकारको पूर्ण उपयोग प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ ।
यस दिन विभिन्न मुलुकमा आतङ्कवादका पीडितप्रति सम्झना प्रकट गर्ने, श्रद्धाञ्जली अर्पण गर्ने तथा ऐक्यबद्धता जनाउने कार्यक्रमहरू आयोजना गरिन्छन् । प्रत्येक वर्ष आतङ्कवादी गतिविधिका कारण हजारौँ निर्दोष मानिसले ज्यान गुमाउँदै आएका छन् । घृणित विचारधाराबाट प्रेरित यस्ता क्रियाकलापको अन्तर्राष्ट्रिय स्तरमै निन्दा भइरहे पनि पीडितहरूले अझै पनि न्याय प्राप्तिका लागि सङ्घर्ष गरिरहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

