कोशी, वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
काठमाडौँ, ५ भदौ
मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशका पहाडी भूभागमा साधारणतया बदली रहने र बाँकी क्षेत्रमा आंशिक बदली हुने जनाएको छ । यस क्रममा पहाड तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति भने कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाले निरन्तरको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र गेग्रान बहावको जोखिम बढ्न सक्ने, ठूला तथा साना नदीनालामा पानीको सतह उच्च हुन सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने जनाएको छ । यससँगै महाशाखाले जोखिम न्यूनीकरणका लागि सर्वसाधारणलाई सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ ।

