राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले दिए राजीनामा
काठमाडौं, २७ साउन
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै खतिवडाले राजीनामाको घोषणा गरेका हुन्।
निजामती सेवा विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको संसदीय छानबिन समितिको निष्कर्ष सार्वजनिक भएसँगै उनीमाथि उठेको प्रश्नको पृष्ठभूमिमा उनले राजीनामा दिएका हुन्।
खतिवडाले सुरुदेखि नै सरकारी कर्मचारीका लागि ‘कुलिङ अफ पिरियड’ लागू हुनुपर्नेमा अडिग रहेको र विधेयकमा दुई वर्षको प्रावधान राख्ने कार्यमा समिति सक्रिय रहेको बताए। त्रुटि प्रतिवेदन लेखनमा संलग्न कर्मचारीबाट भएको दाबी गर्दै उनले अन्तिम रूपमा गहिरिएर नहेर्नु कमजोरी भएको स्वीकार गरे।
राजनीतिक कूटिलताको सिकार भएको दाबी गर्दै खतिवडाले आफूलाई संसदीय छानबिन प्रतिवेदनले दोषी नठहर्याएको र कारबाहीको सिफारिस पनि नगरेको बताए। “जिम्मेवारी बोध गर्दै आज हाँसीहाँसी राजीनामा दिएको घोषणा गर्दछु,” उनले भने।

