जलवायु प्रभावित मुलुकबीच साझा धारणा बनाउन हिन्दूकुश हिमालय संसदीय बैठक भदौ २ र ३ गते काठमाडौँमा

काठमाडौँ, २६ साउन

जलवायु परिवर्तन, वातावरण प्रदूषण र जैविक विविधतासम्बन्धी साझा चुनौती समाधानका लागि नेपालले ‘हिन्दूकुश हिमालय संसदीय बैठक’ आयोजना गर्ने भएको छ।

संघीय संसद्, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आयोजनामा तथा अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को प्राविधिक सहयोगमा भदौ २ र ३ गते सोल्टी होटलमा हुने बैठकमा नेपाल, भारत, चीन, बङ्गलादेश, भुटान, म्यानमार र पाकिस्तानका जनप्रतिनिधिहरू सहभागी हुनेछन्।

समितिका सभापति कुशुमदेवी थापाका अनुसार बैठकको उद्देश्य हिन्दूकुश हिमालय क्षेत्रका मुलुकका संसद्बीच नीति तथा कानुन निर्माण र दीगो विकासका लागि ज्ञान, सीप र नयाँ धारणा आदानप्रदान गर्नु हो।

उहाँले राजनीतिक र संसदीय नेतृत्वलाई एउटै मञ्चमा ल्याएर छलफल गर्दा भविष्यमा जलवायु नीति निर्माण, अनुकूलन योजना, कार्बन उत्सर्जन न्यूनीकरण र क्षेत्रीय रणनीति तय गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

बैठकका लागि समिति सदस्य वीरबहादुर बलायरको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ। संयोजक बलायरले बैठकमा संसदीय सदस्य, सरकारी प्रतिनिधि, नीति निर्माता, कूटनीतिज्ञ, विज्ञ तथा युवाले आफ्ना अनुभव र अभ्यास आदानप्रदान गर्ने जानकारी दिनुभयो।

हिन्दूकुश हिमालय क्षेत्र जलवायु परिवर्तन, जैविक विविधताको ह्रास, वायु प्रदूषण र तीव्र सामाजिक–आर्थिक परिवर्तनका कारण संकटमा रहेको इसिमोडका महानिर्देशक पेमा ग्याम्त्शोले बताउनुभयो। उहाँका अनुसार समस्या सिमापार हुने भएकाले यसको समाधानका लागि अन्तर्देशीय समन्वय र सहकार्य अपरिहार्य छ।

बैठकमा क्षेत्रीय सहयोगमार्फत साझा चुनौतीलाई सम्बोधन गर्ने उपाय पहिचान गरिनुका साथै राष्ट्रिय, क्षेत्रीय र विश्व मञ्चमा पर्वतीय मुद्दालाई प्रभावकारी रूपमा उठाउने संकल्प लिइनेछ।

Ask ChatGPT
Facebook Comments Box