इजरायल–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने राजदूत आरीबासको प्रतिबद्धता
काठमाडौँ, २५ साउन
नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरीबासले इजरायल–नेपालबीचको मित्रतापूर्ण सम्बन्धलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
इजरायलमा अध्ययन गरेका नेपालीहरूको संस्था ‘सलोम क्लब’द्वारा आयोजित कार्यक्रममा उनले कठिन समयमा रहेको इजरायललाई नेपालले सधैं नैतिक समर्थन गर्दै आएकोप्रति आभार व्यक्त गर्दै, आफ्नो मुलुकले पनि नेपाललाई भरपर्दो मित्रको रूपमा व्यवहार गर्दै आएको बताए।
शिक्षा, स्वास्थ्य, कृषि, श्रम तथा सूचना–सञ्चार प्रविधि क्षेत्रमा इजरायलले नेपाललाई सहयोग गर्दै आएको उल्लेख गर्दै उनले निकट भविष्यमै एक हजार नेपाली श्रमिक इजरायल जाने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए।
कार्यक्रममा क्लबका अध्यक्ष प्राध्यापक भीमप्रसाद श्रेष्ठले नेपाल–इजरायलबीच जनस्तरको सम्बन्ध सुदृढ बनाउन क्लबले सेतुको भूमिका निर्वाह गर्दै आएको बताए।

