शुक्लागण्डकीमा आधुनिक फोहर प्रशोधन केन्द्रको उपकरण जडान सुरू

तनहुँ, २३ साउन

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ कसेरीमा फोहरमैला प्रशोधनका लागि आधुनिक उपकरण जडान कार्य सुरू भएको छ। लामो समयदेखि फोहर व्यवस्थापनमा चुनौती भोग्दै आएको नगरपालिकाले ग्रिन रोड र सूर्य नेपाल प्रालिसँग त्रिपक्षीय सम्झौतापछि परियोजना अघि बढाएको हो।

नगरपालिकाका उपप्रमुख खुमबहादुर विकका अनुसार सूर्य नेपालको लगानीमा आवश्यक पूर्वाधार निर्माणसँगै विभिन्न प्रशोधन उपकरण ल्याइएका छन्। असोजभित्र प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। उहाँले भने, “केन्द्र सञ्चालनमा आएपछि टोल विकास संस्थासँगको सहकार्यमा घरमै फोहर वर्गीकरण गरी सङ्कलन गरिनेछ।”

गत वैशाख ११ गते भएको सम्झौताअनुसार दश वर्षका लागि फोहर व्यवस्थापनको जिम्मेवारी ग्रिन रोडलाई दिइएको छ। सूर्य नेपालले यसका लागि दुई करोड चार लाख रुपैयाँ लगानी गर्दै पूर्वाधार निर्माण र उपकरण जडानको काम गरिरहेको छ।

कसेरीस्थित स्थलमा हाल ‘भेर्मी कम्पोस्ट पिट’, ‘अग्र्यानिक वेस्ट ओपन ट्रस्ट’, ‘डिस्पोजल वेस्ट ओपन ट्रस्ट’, ‘प्लेटिजिङ प्रोसेस सेन्टर’, ‘प्रिसटिङ एरिया’, ‘एक्जिटिङ प्रोसेस सेन्टर’ लगायतका ११ युनिट निर्माण भइरहेको छ। साथै विद्युतीय घर, शौचालय, भान्छा, क्यान्टिन हल, कार्यालय र सुरक्षाकर्मी आवास पनि तयार पारिँदै छन्।

नगरपालिकाका इञ्जिनियर भीम सुवेदीका अनुसार आर्थिक वर्ष २०७४/०७५ को बजेटबाट ट्रष्ट निर्माणका लागि २४ लाख ७० हजार ८५१ रुपैयाँ खर्च गरिएको थियो। २०८०/८१ मा कम्पाउण्ड र ट्रष्ट निर्माणमा ५२ लाख ५९ हजार ५३ रुपैयाँ, २०७५/७६ मा सडक स्तरोन्नतिमा ५२ लाख रुपैयाँ, र गत आवमा सेती नदीले कटान गरेपछि तटबन्धनमा करिब ४५ लाख रुपैयाँ लगानी गरिएको हो। हाल बजार क्षेत्रको फोहर सेती नदी किनारमा फालिँदै आएको भए पनि प्रशोधन केन्द्र सञ्चालनमा आएपछि फोहर व्यवस्थापन व्यवस्थित हुने नगरप्रमुख कृष्णराज पण्डितको भनाइ छ।

Facebook Comments Box