गण्डकी प्रदेशमा चार हजारभन्दा बढी किशोरी आमा
बागलुङ, २३ साउन
कानुनले २० वर्षअगावै विवाह गर्न निषेध गरेको भए पनि गण्डकी प्रदेशमा बालविवाह र किशोरी आमाको संख्या उच्च रहेको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पछिल्लो दुई वर्षमा प्रदेशभर ३९ हजार १२९ जना सुत्केरी भएकामध्ये ४ हजार २५५ जना २० वर्षमुनिका किशोरी छन्।
कास्की जिल्लामा सुत्केरी हुने संख्या सबैभन्दा बढी छ। त्यहाँ १० हजार ८९५ जना महिलाले बच्चा जन्माएकोमा १ हजार ३६८ जना किशोरी आमा छन्। सबैभन्दा कम सुत्केरी संख्या मनाङमा छ, जहाँ १५ जना महिलामध्ये एक जना किशोरी आमा रहेको छ। आर्थिक वर्ष २०७९/८० मा २१ हजार १२७ जना सुत्केरीमध्ये २ हजार २७४ जना किशोरी आमा थिए भने २०८१/८२ मा कुल १८ हजार २ जना सुत्केरीमध्ये १ हजार ९८१ जना किशोरी रहेका छन्।
जिल्लागत विवरणमा, बागलुङमा चार हजार ३४२ जना सुत्केरीमध्ये ६ सय ६९ जना किशोरी, पर्वतमा एक हजार १५५ मध्ये १९१ जना, म्याग्दीमा एक हजार ४१८ मध्ये २ सय ९३ जना, मुस्ताङमा ९० मध्ये ६ जना किशोरी आमा छन्। स्याङ्जामा १ हजार ८८७ मध्ये २४२, तनहुँमा दुई हजार ५८ मध्ये ३ सय ४३, लमजुङमा दुई हजार १६१ मध्ये २ सय ३५, गोरखामा तीन हजार २३ मध्ये ४ सय १, र नवलपुरमा दुई हजार ६५८ मध्ये ५ सय ६० जना किशोरी आमा रहेका छन्।
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकका अनुसार बालविवाह रोक्न सरकारले स्थानीय तहहरूसँग मिलेर चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। कानुनले बालविवाहलाई पूर्ण रूपमा निषेध गरेको र उल्लंघन गर्नेलाई कानुनी कारबाही गरिने उहाँले जानकारी दिनुभयो।
धवलागिरि प्रादेशिक अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. विजय ओझाले २० वर्षभन्दा कम उमेरमा बच्चा जन्माउँदा शारीरिक विकास पूर्ण नहुँदा गर्भ धारण र सुत्केरी प्रक्रियामा स्वास्थ्य जोखिम बढ्ने बताउनुभयो। किशोरी आमाहरूमा रक्तश्राव, शल्यक्रिया, कम तौलका बच्चा जन्मिने, दीर्घकालीन स्वास्थ्य समस्या र मानसिक स्वास्थ्यमा असर पर्ने खतरा बढी रहेको उहाँको भनाइ छ।
नेपालको मुलुकी देवानी संहिता २०७४ अनुसार २० वर्ष पूरा नगरी विवाह गर्न नपाउने कानुन लागू छ। मुलुकी अपराध संहिता ऐन, २०७४ ले उल्लंघनकर्तालाई तीन वर्षसम्म कैद र रु ३० हजार जरिवाना हुने व्यवस्था गरेको छ।

