सप्तरीमा मदिरा तस्करी नियन्त्रणमा गोली चल्दा एकको मृत्यु
सप्तरी, २१ साउन
सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा भारततर्फ तस्करी गर्न राखिएको ठूलो मात्रामा मदिरा नियन्त्रण गर्ने क्रममा प्रहरीले हवाई फायर गरेको छ। उक्त क्रममा गोली लागेर ३५ वर्षीय लालु यादवको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतका अनुसार, राति १० बजेतिर ठूलो मात्रामा मदिरा भण्डारण गरिएको सूचनाका आधारमा प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवको नेतृत्वमा १० सदस्यीय प्रहरी टोली घटना स्थलतर्फ गएको थियो।
प्रहरी टोलीमाथि तस्करको समूहले आक्रमण गर्दा प्रहरीहरूले आत्मरक्षाका लागि चार राउन्ड हवाई फायर गरेका थिए। त्यस क्रममा एक गोली यादवको बायाँ तिघ्रामा लागेका थिए। गोली लागेका यादवलाई राति साढे ११ बजे गजेन्द्र नारायणसिंह सगरमाथा अस्पताल पुर्याइएको थियो, जहाँ उनको मृत्यु भएको डीएसपी बस्नेतले जानकारी दिनुभयो।
प्रहरीले कमलपुरबाट ८० कार्टुन मदिरा बरामद गरेको छ भने थप मदिरा पनि त्यहाँ रहेको बताइएको छ। मदिरा नियन्त्रणमा लिन खोज्दा तस्करहरू डुङ्गामुढा लगायतले आक्रमण गरेका र प्रहरीलाई चोटपटक पुगेका छन्। यस क्रममा दुई जना प्रहरी घाइते भएका छन्। घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

