कार्यसम्पादनमा उत्कृष्ट बागलुङ नगरपालिका सम्मानित
बागलुङ, २१ साउन
विकास निर्माणमा उल्लेखनीय प्रगति हासिल गरेको आधारमा बागलुङ नगरपालिकालाई विशेष सम्मान प्रदान गरिएको छ। नेपाल सरकारमार्फत विश्व बैंकबाट प्राप्त ४८ करोड रुपैयाँको अनुदान सहयोगमा सडक निर्माण कार्यमा उत्कृष्ट कार्यसम्पादन गरेबापत नगरपालिकालाई सम्मान गरिएको हो।
अनुदानबाट सञ्चालित तीन सडक योजनामध्ये दुई वटा सडकको निर्माण कार्य सम्पन्न भइसकेको छ भने एक सडक कालोपत्रको तयारीमा रहेको छ। कुल १७ वटा नगरपालिकामा एकैपटक विकास निर्माण कार्य थालिए पनि कार्यसम्पादनका आधारमा बागलुङ नगरपालिका अग्रणी ठहरिएको हो।
काठमाडौँमा आयोजित नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट कार्यसम्पादन गर्ने स्थानीय तहको रूपमा बागलुङ नगरपालिकालाई उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्मान गरेका हुन्। उक्त सम्मान नगरप्रमुख वसन्तकुमार श्रेष्ठले ग्रहण गर्नुभयो।
गत असारमा ठेक्का सम्झौता भई माघमा नै कालोपत्र सुरु गरिएको सडक आयोजनामा चैतसम्म दुई वटा सडकको कालोपत्र सम्पन्न भएको छ भने तेस्रो सडक कालोपत्रका लागि ग्राभेल तयारी भइसकेको छ।
सम्पन्न भएका तथा निर्माणाधीन सडकहरू
-
ओडारचौर–ढोडेनी सडक (वडा नं. ४): २.२ किलोमिटर कालोपत्र सम्पन्न
-
गणेशथान घुम्ती–निरयघाट सडक (वडा नं. १): १.५ किलोमिटर कालोपत्र सम्पन्न
-
मूलपानी–तितौरे सडक (वडा नं. ७): ८.६ किलोमिटरमध्ये हालसम्म ७०% प्रगति, बर्खा सकिएलगत्तै कालोपत्र हुने
निर्माण व्यवसायीका इञ्जिनियर मनोज शर्माका अनुसार निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ र निर्धारित समयभित्र सम्पूर्ण सडक कालोपत्र सम्पन्न हुने अपेक्षा गरिएको छ।

