आरआर क्याम्पसमा नेकपा एमाले र एकीकृत समाजवादी बिच चुनावी तालमेल
काठमाडौं, २८ फागुन – आरआर क्याम्पसमा नेकपा एमाले र एकीकृत समाजवादीले स्ववियु निर्वाचनका लागि चुनावी तालमेल गरेका छन् ।
एमाले निकट अनेरास्ववियुले एक पद एकीकृत समाजवादीको विद्यार्थी संगठन अनरास्ववियूलाई दिएर चुनावी तालमेल गरेको छ । एक पद बाहेक सबै अनेरास्ववियुको हुनेगरी गठबन्धन गरिएको छ ।
कोषाध्यक्ष पदमा भने एकीकृत समाजवादी निकटको विद्यार्थी संगठन अनेरास्ववियूले उम्मेदवार बनाउने भएको छ । विद्यार्थी संख्याको आधारमा स्ववियु कार्यसमिति बन्ने व्यवस्था छ । दुई सय भन्दा कम विद्यार्थी भएका क्याम्पसमा ११ सदस्यीय कार्यसमिति हुनेछ ।
एक हजारसम्म विद्यार्थी भएका क्याम्पसमा १५ जना, तीन हजारसम्म विद्यार्थी संख्या भएको क्याम्पसमा १९ जना र त्यसभन्दा माथि विद्यार्थी संख्या रहेको क्याम्पसमा २१ जनाको निर्वाचित कार्यसमिति हुनेछ ।
अध्यक्ष, सचिव, कोषाध्यक्ष प्रत्यक्षबाट चुनिने छन् । उपाध्यक्ष र सहायक सचिवका लागि दोस्रो चरणको मतदान हुनेछ । पूर्ण कार्यसमिति बनेपछि कार्यसमितिबाटै उपाध्यक्ष र सहायक सचिवका लागि दोस्रो चरणको मतदान गरी छनोट गरिने छ । ५ चैतमा हुने स्ववियु निर्वाचनका लागि २७ फागुनमा उम्मेदवार मनोनयन दर्ता भएको छ ।