बागलुङमा ५,८७२ घर बाढी–पहिरोको जोखिममा
बागलुङ, ६ साउन – बागलुङ जिल्लामा यो वर्षको मनसुनसँगै ५ हजार ८७२ घरधुरी बाढी र पहिरोको उच्च जोखिममा परेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। वर्षेनी जस्तै यस वर्ष पनि वर्षात सुरु भएसँगै जोखिमको पहिचान गरी नागरिकलाई सचेत गराउने काम सुरु गरिएको हो।
जिल्लाका धेरैजसो बस्ती खोला किनार र भिरालो जमिनमा रहेकाले बाढी तथा पहिरोको सधैं जोखिम रहने गरेको समितिको भनाइ छ। निसीखोला गाउँपालिका सबैभन्दा बढी प्रभावित पालिका हो, जहाँ २,४३८ घरधुरी जोखिममा छन्। सबैभन्दा कम जोखिम जैमिनी नगरपालिकामा देखिएको छ, जहाँ १६ घर मात्र जोखिममा छन्।
सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार अन्य पालिकाहरूमा जोखिम विवरण यसप्रकार छ:
-
बागलुङ नगरपालिका – १,५५४ घर
-
काठेखोला गाउँपालिका – ७२० घर
-
ढोरपाटन नगरपालिका – ३९० घर
-
बरेङ गाउँपालिका – २१० घर
-
बडिगाड गाउँपालिका – १६० घर
-
तमानखोला गाउँपालिका – ११५ घर
-
ताराखोला गाउँपालिका – १४४ घर
-
गलकोट नगरपालिका – १२५ घर
सिर्फ घर मात्रै होइन, विद्यालय, कुलो, सिँचाइ संरचना, विद्युत् गृह र सयौँ रोपनी खेतीयोग्य जमिन पनि जोखिममा परेको पौडेलले जानकारी दिनुभयो। उहाँले थप भन्नुभयो, “वर्षातको समयमा जोखिमयुक्त बस्तीमा बस्नु निकै खतरनाक हुन सक्छ। पहिरो र बाढी जुनसुकै बेला आउन सक्छ, त्यसैले नागरिकलाई सचेत रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।”
निसीखोला गाउँपालिकामा पहिरोको असर सबैभन्दा बढी वडा नं. १ को हुल्दी क्षेत्रमा परेको प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले जानकारी दिनुभयो। उहाँका अनुसार जोखिमपूर्ण बस्तीलाई एकीकृत बस्ती निर्माणमार्फत स्थानान्तरण गर्न केन्द्र तथा प्रदेश सरकारसँग सहकार्यको तयारी भइरहेको छ।
विपद् पूर्वतयारी अन्तर्गत गाउँपालिकाले राहत तथा उद्धारका लागि रु ३० लाखको ‘विपद् व्यवस्थापन कोष’ स्थापना गरेको छ। थप रूपमा, निसीखोलाका तीनवटै प्रहरी चौकीहरूमा उद्धार सामग्रीहरू उपलब्ध गराइएको पुन मगरले बताउनुभयो।

