साउनको पहिलो सोमबार देवघाटमा ३५ हजार भक्तजनको सहभागिता
तनहुँ, ६ साउन – साउनको पहिलो सोमबारको अवसरमा तनहुँको देवघाटधाममा स्नान तथा पूजाअर्चनाका लागि ३५ हजार भक्तजनको आगमन भएको छ। यो संख्या गत वर्षको तुलनामा उल्लेख्य रूपमा बढी भएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ।
समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार, अघिल्लो वर्षको पहिलो सोमबार २५ हजार भक्तजन आएका थिए भने यस वर्ष बोलबम मेलामा सहभागी हुनेको संख्या ३५ हजार पुगेको हो। स्नानका लागि भक्तजनहरू बिहानैदेखि त्रिशूली र कालीगण्डकी नदीको संगमस्थलमा ओइरिएका थिए।
नदीमा बहाव बढ्ने साउन महिनामा भक्तजनको सुरक्षाका लागि तनहुँ र चितवन जिल्लातर्फ सुरक्षा सतर्कता बढाइएको छ। नदी किनारमा बिजुली बत्तीको व्यवस्था, स्नानस्थलमा डोरीसहितका दुई डुङ्गाको तयारी गरिएको बरालले जानकारी दिनुभयो। मेलाअघि हरेक आइतबार र मेलापछि हरेक मङ्गलबार वेणी संगम क्षेत्र सरसफाइ गरिने व्यवस्था पनि गरिएको छ।
साउन महिनाभर इलाका प्रहरी कार्यालय देवघाटमा थप जनशक्ति परिचालन गरिएको छ। देवघाट चितवन, तनहुँ र नवलपुर जिल्लाको संगमस्थल भएको कारण साउने सोमबार देश–विदेशबाट हजारौं श्रद्धालु आउने परम्परा रहेको छ। पवित्र जल र बेलपत्र अर्पण गरेर शिवको आराधना गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको समितिका पूर्व अध्यक्ष शिवराज पौडेलले बताउनुभयो।
पाल्पाका शिव मन्दिरहरूमा पनि भक्तजनको घुइँचो
साउने सोमबारको अवसरमा पाल्पाका शिवालयहरूमा पनि बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ। बिहान ४ बजेदेखि नै तानसेनको नारायणस्थान, तिनाउको सिद्धबाबा मन्दिर, बराङ्दीस्थित महामृत्युञ्जय शिवासन, ठुटेपीपलस्थित बद्रेश्वर शिवालय, बतासेडाँडा, प्रभास, दमकडा, रामपुर लगायतका शिव मन्दिरमा पूजाआजा र दर्शन गर्ने भक्तजनको उपस्थिति देखिएको हो।
नारायणस्थान मन्दिरमा यस वर्षदेखि विशेष व्यवस्था गरिएको छ। भक्तजनलाई कालीगण्डकीको पवित्र जलले स्नान गराउन पोखरीमा कालीगण्डकी नदीको पानी लिफ्टिङ प्रविधिमार्फत ल्याएर १०८ गौमुखे धारामा वितरण गरिएको छ।
नारायण युवा क्लबका अध्यक्ष प्रविनराज शाक्यका अनुसार, यस व्यवस्थाले कालीगण्डकीमै स्नान गरेसरह पुण्य प्राप्त हुने विश्वास गरिएको छ। विगतमा मन्दिरमा पूजापछि कालीगण्डकी नदीमा पुगेर स्नान गर्नुपर्ने बाध्यता यस वर्ष अन्त्य गरिएको क्लबका संस्थापक अध्यक्ष हिमालदत्त श्रेष्ठले जानकारी दिनुभयो।
सिद्धबाबा क्षेत्रमा पनि श्रद्धालुको चाप
सिद्धपुरुष भर्तृहरिको तपोभूमि तथा आदिमानव रामपिथेकसको विचरणस्थलका रूपमा प्रसिद्ध सिद्धबाबा धाममा पनि पाल्पा, रूपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाबाट आएका श्रद्धालुको भीड लागेको छ। पुरातात्विक, धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण यो स्थलमा विशेषगरी साउने सोमबार भक्तजनहरूको बढी चाप हुने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। त्यस्तै, बराङ्दीस्थित महामृत्युञ्जय शिवासनमा पनि ठूलो संख्यामा श्रद्धालु पुगेका थिए।

