कञ्चनपुर कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदी, सबैभन्दा धेरै लागुऔषध सम्बन्धी

कञ्चनपुर, ३ साउन – कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बढी ४५६ जना कैदीबन्दी राखिएको छ। कारागारको अधिकतम क्षमता १६० जनाको भए पनि हाल २७ जना महिला र २६ जना भारतीयसहित ४५६ जना कैदीबन्दी रहेका छन्।

जिल्ला कारागार कार्यालयका निमित्त प्रमुख रामदत्त जोशीका अनुसार महिला २० र पुरुष १४० जना राख्ने क्षमताको कारागारमा अहिले पनि पाल र टिनको सहायतामा कैदी राखिएको छ। “कहिलेकाहीँ संख्या ५८० सम्म पुगेको थियो,” उहाँले बताए।

उहाँका अनुसार अहिले सबैभन्दा बढी १६७ जना लागुऔषध सम्बन्धी मुद्दाका कैदी छन्। अदालतले पछिल्लो समय मुद्दा छिटो टुंग्याउन थालेपछि कैदी संख्या केही घटेको उहाँको भनाइ छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सागर बोहराले लागुऔषधको कारण चोरी, ठगी, बलात्कार र हत्या जस्ता गम्भीर अपराधहरू बढ्दै गएका कारण पनि कैदी संख्या बढेको बताए।

“मनोरञ्जन र साथीसँगको प्रभावले लागुऔषध सेवन गर्ने प्रवृत्ति देखिन्छ,” उहाँले भने, “खुला सीमा क्षेत्रले पनि यसको पहुँच बढाएको छ।” कारागारमा हाल महिला हिंसा, ठगी, ज्यान मार्ने उद्योगलगायतका विभिन्न अपराधमा संलग्न कैदीहरू पनि रहेका छन्।

Facebook Comments Box