जग्गा प्रकरणसम्बन्धी अडियो प्रकरणमा छानबिन होस्, दोषी ठहरिए सजाय भोग्न तयार छु : मन्त्री अधिकारी

काठमाडौँ, १ साउन – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पोखरास्थित विवादित जग्गा प्रकरणसम्बन्धी अडियो रेकर्ड आफू र परिवारको चरित्र हत्या गर्ने नियतसहित सार्वजनिक गरिएको दाबी गर्नुभएको छ।

मन्त्रालयको वार्षिक उपलब्धि सार्वजनिक गर्न बिहीवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले केही दिनदेखि आफूसहित आफ्ना परिवारका सदस्यहरूको नाम जोडेर अडियो सार्वजनिक गरिएकोप्रति आपत्ति जनाउनुभयो।

“सुनियोजित ढंगले मेरो चरित्र हत्या गर्ने प्रयास भइरहेको छ,” मन्त्री अधिकारीले भन्नुभयो, “तर, सो अडियोको सत्यतथ्य पत्ता लगाउन म छानबिनमा तयार छु। दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न पनि तयार छु।”

उहाँले मन्त्रालय सम्हालेको एक वर्षको अवधिमा भूमि, सहकारी र गरिबी निवारणको क्षेत्रमा उल्लेखनीय सुधार भएको दाबी गर्दै त्यसको प्रशंसा गर्नुको सट्टा अनावश्यक अफवाह फैलाइएकोमा खेद प्रकट गर्नुभयो।

मन्त्री अधिकारीले आमसञ्चारमाध्यमहरूलाई विवादित अडियो रेकर्ड र जग्गा प्रकरणका विषयमा सत्यतथ्यको गहिरो छानबिन गरी वस्तुनिष्ठ समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो।

“जिम्मेवार सञ्चारमाध्यमहरूले तथ्यमा आधारित रिपोर्टिङ गर्नुपर्छ,” उहाँले भन्नुभयो, “मात्र अडियो सार्वजनिक गरेर चरित्र हत्या गर्ने प्रयास गर्नु अनुचित हो। सत्य के हो, त्यो बाहिर ल्याउन म पूर्ण रूपमा सहकार्य गर्न तयार छु।”

Facebook Comments Box