सुदूरपहाडमा डोको, डालो र भकारी जस्ता परम्परागत सामग्री लोप हुँदै
डडेल्धुरा, ३१ असार – प्लास्टिकजन्य आयातीत सामग्रीको बढ्दो प्रयोग र कच्चापदार्थ अभावका कारण सुदूरपहाडका ग्रामीण क्षेत्रहरूमा परम्परागत रूपमा प्रयोग हुँदै आएका डोका, डालो, सुप्पा र भकारी जस्ता बाँस र निगालोबाट बनेका सामग्री लोप हुँदै गएका छन्।
यस्ता सामग्रीहरू कृषिकर्म र सुरक्षित खाद्यान्न भण्डारणका लागि प्रयोग हुने गर्थे। यहाँका दलित तथा जनजाति समुदायका सिपालुहरू पुस्तौँदेखि यी सामग्री बुनेर जीविकोपार्जन गर्दै आएका थिए। तर पछिल्ला केही वर्षयता आयातीत प्लास्टिक र धातुका सामग्रीको बढ्दो प्रयोग तथा गाउँघरका सामुदायिक वनमा कच्चापदार्थ अभावले गर्दा यो पेसा संकटमा परेको छ।
पाटन नगरपालिका–१० का वीरभान विकका अनुसार, गाउँमा यातायात सञ्चालन भएपछि बाहिरी सामग्रीको पहुँच बढेको र बाँस तथा निगालो सङ्कलनमा समस्या आएपछि परम्परागत सामग्री बनाउन कठिन भएको छ। डडेल्धुराका अमरगढी नगरपालिका, तिलाडी, कैनी टोल, छचोडा आलिताल, नवदुर्गा गाउँपालिका लगायतका ठाउँमा बाँस र निगालोबाट बनेका परम्परागत सामग्री बनाउने र बेच्ने व्यक्तिहरू अहिले वैदेशिक रोजगारी र अन्य पेशामा जान बाध्य भएका छन्।
अमरगढी–७ का टीका पार्कीले भने, “बाँस र निगालो नपाउँदा आयआर्जनको बाटो बन्द भएको छ, परिवार पाल्न कठिन भइरहेको छ।” आलिताल गाउँपालिका–८ का जोगराज भट्टले पनि ट्र्याक्टरको प्रयोग र बजारबाट ल्याइने ड्रम, प्लास्टिकका भाँडाहरूले गाउँघरमा बाँस निगालोबाट बनेका सामग्रीको प्रयोग घटाएको बताए।
यस समुदायले बनाउने सामग्रीहरूको मूल्य पनि बजारमा उचित नपाउने हुँदा पेसा संकट झेल्नुपरेको छ। प्रतिडोकोको मूल्य रु ४०० देखि ६०० र डालो, भकारी, मानो र नाङ्लोको मूल्य रु एक हजारदेखि चार हजारसम्म रहेको छ।युवा पुस्ता वैदेशिक रोजगारी र व्यापारतर्फ आकर्षित भएपछि यो परम्परागत पेसा अन्त्यतिर गएको देखिन्छ।

