निरन्तर वर्षाले बीपी राजमार्ग दैनिकजसो अवरुद्ध, यात्रु अलपत्र
काभ्रे, ३१ असार – निरन्तरको वर्षाले बीपी राजमार्ग दैनिकजसो अवरुद्ध हुने स्थिति उत्पन्न भएको छ। सोमबार दिउँसो सञ्चालनमा आएको सडक राति पुनः बाढी र पहिरोले अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीले जानकारी दिनुभयो।
बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका–९ पिन्थलीबेशी, मंगलटारको बिरुवाडाँडा क्षेत्रमा रहेको फेदीखेला र साङखोला, रोशी–११ कालढुंगा, तथा रोशी ११ र १२ सिमानाको माम्ती खोलामा आएको बाढीले सडक कटान गरेको छ। साथै, काभ्रे र सिन्धुलीको सिमानामा रहेको बर्खेखोलामा आएको बाढीले पनि सडक अवरुद्ध भएको छ। त्यसैगरी, रोशीकै पिप्ले, पानीतार नजिकको पहिरोका कारण पनि यातायात ठप्प भएको छ।
प्रमुख कार्कीका अनुसार, पिन्थलीको लेदो हटाइसकेपछि अहिले बिरुवाडाँडाको लेदो हटाउने कार्य भइरहेको छ। “सडक दुवैतर्फ अवरुद्ध छ, पहिरो र लेदो हटाउन कम्तीमा ३–४ घण्टा लाग्छ,” उहाँले बताउनुभयो। सडक विभाग र निर्माण कम्पनी एवन निर्माण सेवाको सहयोगमा राजमार्ग खुलाउने प्रयास जारी रहेको छ। राजमार्ग सोमबार राति ८ बजेपछि अवरुद्ध भएको हो। यसअघि पनि असार १६, २५ र २६ गते पिन्थली क्षेत्रमा बारम्बार सडक अवरुद्ध भएको थियो।
सडक अवरुद्ध भएपछि यात्रु र सवारी साधनको सुरक्षाका लागि काभ्रे र सिन्धुली प्रहरीले सवारी होल्ड गरेका छन्। काभ्रेबाट पूर्वतर्फ जान लागेका सवारीलाई काभ्रेभञ्ज्याङ र भकुण्डे, तथा सिन्धुलीतर्फबाट काठमाडौंतर्फ आउन लागेका सवारीलाई सिन्धुलीमाडी, हिरापानी चेकपोष्ट, खुर्कोट जस्ता सुरक्षित स्थानमा रोकिने व्यवस्था गरिएको हो। होल्ड भएका सवारी साधनका कारण राजमार्गमा एकतर्फी लामो जाम भएको छ भने यात्रुहरू अलपत्र परेका छन्।
बीपी राजमार्ग अझै केही घन्टा बन्द रहने सम्भावना रहेकाले यात्रा गर्नु अघि सडकको अवस्था बुझ्न ट्राफिक कार्यालय, काभ्रेद्वारा अनुरोध गरिएको छ।

