फूल्चोकीद्वारा एसईई ग्रेडेड विद्यार्थी सम्मानित
ललितपुर, १८ असार – गोदावरी नगरपालिका–१४, ठैबमा अवस्थित फूल्चोकी माध्यमिक विद्यालयले एसईई परीक्षा २०८१ मा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीलाई विशेष सम्मान गरेको छ।
समारोहमा नगरप्रमुख गजेन्द्र महर्जनले गोदावरी नगरपालिकालाई “शिक्षाको हब” बनाउने अभियानमा सामुदायिक विद्यालयहरूले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।
उहाँले फूल्चोकी विद्यालयले एसईई नतिजामा ठूलो सुधार गर्दै जिपिए ४ ल्याउने नगरकै एकमात्र सामुदायिक विद्यालय बन्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो। साथै, अन्य विद्यालयहरूलाई पनि यस विद्यालयबाट प्रेरणा लिनुपर्ने धारणा राख्नुभयो।
त्यसैगरी, नगर उपप्रमुख मुना अधिकारीले शिक्षण पेसामा महिला शिक्षकहरूको बढ्दो सहभागिता र उत्कृष्ट योगदानलाई लैङ्गिक समानताको दृष्टिले सकारात्मक संकेत भएको बताउनुभयो। पुरुष शिक्षकहरूको भूमिकालाई समेत महत्त्वपूर्ण भन्दै उहाँले सन्तुलित सहभागिताको आवश्यकता औँल्याउनुभयो।
वडा नं. १४ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरोज बज्राचार्यले विद्यालयले एउटा ऐतिहासिक उचाइ कायम गर्न सफल भएको बताउँदै, यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
एसईईमा अनुश्रीया पौडेलले ४ जिपिए ल्याई विद्यालयको गौरव बढाएकी छन्। यसपटक ललितपुरका चार सामुदायिक विद्यालय मात्र ४ जिपिए ल्याउन सफल भएका छन्।
व्यवस्थापन समिति सदस्य सुधन श्रेष्ठले छोटो अवधिमै विद्यालयले देखाएको प्रगतिको गति उल्लेखनीय भएको बताउँदै, शिक्षकहरूको प्रतिबद्धताले अझ राम्रो भविष्य सुनिश्चित गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा विषयगत शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो। गत वर्ष मात्र ३८ प्रतिशत विद्यार्थी पास भएको यस विद्यालयमा यो वर्ष ८० प्रतिशतभन्दा बढी विद्यार्थी ग्रेडेड भएका छन्।
गोदावरी नगरपालिकाले उत्कृष्ट विद्यार्थी र विद्यालयलाई पुरस्कृत गर्ने घोषणा गरेको छ। यस वर्ष गोदावरी नगरपालिकाका सामुदायिक विद्यालयहरूबाट ६६६ जना विद्यार्थी एसईई मा सहभागी भएका थिए, जसमा करीब ६९ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।

