नेपाल म्याङ्गो फेस्ट भोलिदेखि सुरु हुने

काठमाडौँ, १२ असार – नेपालमा उत्पादन हुने आँपको प्रवर्द्धनका लागि भोलिदेखि ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव सुरु हुँदैछ। काठमाडौँ अर्गानिक, एग्री नेपाल, अर्थियर एप र युबी होल्डिङ्सको सहकार्यमा तीनदिने महोत्सव यही असार १३ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन्।

लाजिम्पाटस्थित वाल्नट बिस्ट्रोमा आयोजना हुने उद्घाटन कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको उपस्थिति रहनेछ।

महोत्सवमा तराई–मधेसमा उत्पादन भएका नेपाली आँपको विविधता, स्वाद र संस्कृतिको प्रस्तुति गरिनेछ। नेपाली आँपको पहिचान बढाउने, स्थानीय किसानको मूल्य शृङ्खला मजबुत बनाउने र विषादीरहित उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्य रहेको काठमाडौँ अर्गानिककी प्रमुख सञ्चालन अधिकृत निशा तौजले जानकारी दिनुभयो।

महोत्सवमा माल्दा, दशहरी, जरदा, किसानबोग र कलकत्तिया लगायत १० भन्दाबढी जातका आँप प्रदर्शनीमा राखिनेछ। त्यसमध्ये पाँच जातका आँपहरू प्रत्यक्ष किसानबाट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ।

साथै, २० भन्दा बढी आँप प्रयोग गरिएका परिकार र पेयपदार्थ रेस्टुरेन्टहरूमा उपलब्ध हुनेछन्। सबै उमेरका सहभागीका लागि रमाइला म्याङ्गो गेम्स र अन्य विविध गतिविधिहरू पनि सञ्चालन हुनेछन्। महोत्सव लाजिम्पाटको वाल्नट बिस्ट्रो, स्वयम्भूको एचटुओ क्याफे र झम्सीखेलको वाटरिङ हलमा एकै साथ सञ्चालन हुनेछ।

Facebook Comments Box