‘पाँच जिल्लाबाहेक अरु भाडामा दिए हुन्छ’ भन्ने अभिव्यक्ति संसदबाट हटाउन सभामुखको निर्देशन
काठमाडौँ, ८ असार – सभामुख देवराज घिमिरेले सांसद अमरेशकुमार सिंहको संसद्मा दिएको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ। सिंहले “पाँच वटा जिल्लाबाहेक अरु जिल्ला भाडामा दिए हुन्छ” भन्ने भनाइ संसदमा राखेका थिए।
विनियोजन विधेयकको खर्च कटौती प्रस्तावमा सम्बोधन गर्दै सांसद सिंहले बढी बजेट केवल पाँच जिल्लामा केन्द्रित गरिएको भन्दै आपत्ति जनाउँदै उक्त अभिव्यक्ति दिएका थिए।
सिंहको भनाइलाई राष्ट्रघाती भन्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आपत्ति जनाउँदै प्रतिनिधिसभा नियमावली २०७९ को नियम २०, २१ र २३ अनुसार औपचारिक नियमापत्ति प्रस्तुत गर्नुभएको थियो।
सिंहले सम्बोधन गरिरहँदा सभामुख घिमिरेले बारम्बार संसदीय मर्यादाअनुकूल भाषा प्रयोग गर्न आग्रह गरेका थिए। अन्ततः सभामुखले विवादास्पद भनाइ संसदको अभिलेखबाट हटाउन निर्देशन दिएका हुन्।

