कालीगण्डकी करिडोर तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध

गुल्मी, ८ असार – गत शुक्रबारदेखि अबरुद्ध बनेको गुल्मी जिल्लाको कालीगण्डकी करिडोर सडक तीन दिन बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन। लामो समयदेखि सडक बन्द रहँदा स्थानीय बासिन्दा दैनिक जीवनमा थप समस्यामा परेका छन्।

कालीगण्डकी गाउँपालिका–१ अन्तर्गत हर्मीचौर–अर्बेनी सडकखण्डको गरगरे क्षेत्रमा शुक्रबार अपराह्नदेखि खसेको सुक्खा पहिरोले बाटो पूर्ण रूपमा बन्द भएको हो। यस कारण गाउँपालिका केन्द्र पुर्तिघाट र त्यहाँबाट बुटवलसम्म जान/आउन प्रयोग हुने मुख्य सडकमा सवारीसाधनहरु बीच बाटोमै रोकिएका छन्।

यद्यपि पहिरो हटाउन तीनवटा डोजर तयारी अवस्थामा राखिएको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिनुभयो। तर पहिरो निरन्तर खसिरहेकाले काम गर्न कठिन भएको उहाँको भनाइ छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले यात्रुहरूको सुरक्षालाई ध्यानमा राखी वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्नुभयो। “सडकभन्दा धेरै माथिबाट लगातार सुक्खा पहिरो खसिरहेकाले जोखिम कायमै छ। हामीले यात्रुहरूलाई देउरालीहुँदै अर्बेनीकोटतर्फ जाने वैकल्पिक बाटो अपनाउन भनेका छौं,” उहाँले बताउनुभयो।

आज (आइतबार) केलुकीसम्म पनि पहिरो रोकिएको छैन, जसका कारण तत्काल सडक सञ्चालन हुने सम्भावना नरहेको जनाइएको छ। अध्यक्ष थापाले स्थानीयवासी बारम्बार सडक खुल्नेबारे जानकारी मागिरहे पनि अहिले उत्तर दिन सकिने अवस्था नरहेको बताउनुभयो।

Facebook Comments Box