नदी नै जीवन, नदी नै पीडा: खल्लागोठवासीको संघर्षपूर्ण दैनिकी

कञ्चनपुर, ६ असार – कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठ गाउँका बासिन्दा दिन ढल्नुअगावै नदी किनार पुगिसकेका हुन्छन्। चुरे क्षेत्रबाट बग्ने दोदा (मछेली) नदी उनीहरूको जीविकाको आधार बनेको छ—तर यही नदी कहिलेकाहीँ उनीहरूका लागि संकटको कारक पनि बन्ने गरेको छ।

भीम गिरी र उनकी पत्नी बिहान सबेरै हातमा फरुवा, गैँटी, कोदालो बोकेर दोदा नदीको बगरमा पुग्छन्। दिनभर बालुवा र गिट्टी संकलन गरेर छुट्याउने र थुपार्ने काममा व्यस्त रहने गिरी दम्पतीको जीवन नदीमै आश्रित छ। एक दशकभन्दा बढी समयदेखि उनीहरूको परिवारको जीवन यस्तै श्रममा बित्दै आएको छ।

“पहिले भारत जान्थेँ,” भीम गिरी सुनाउँछन्, “तर थोरै तलबमा परिवारको खर्च टार्न सक्दिनथेँ। अहिले कमाइ कम भए पनि परिवारसँगै छु, बालुवा बेचेरै घर चलाइरहेको छु।” उनका अनुसार, चार–पाँच दिनमा एक ट्रली बालुवा वा गिट्टी संकलन गर्दा रु २,००० देखि ३,००० कमाइ हुने गर्छ। महिनामा झन्डै रु १२ देखि १५ हजार सम्म कमाइ हुन्छ।

गिरी परिवारसँग थोरै जमिन छ, तर त्यो छ महिनाको लागि पनि पर्याप्त अन्न उपज गर्न सक्दैन। बालुवा–गिट्टी बेचेरै उनीहरू नुनतेल, लत्ताकपडा र दैनिक अन्नपात जुटाउँदै आएका छन्। भीम गिरीजस्तै कृष्ण नाथ पनि विगत दुई दशकदेखि यही काम गर्दै आएका छन्। उनका अनुसार, ८ सदस्यीय परिवार यही आम्दानीमा निर्भर छ। “बच्चाहरू छाडेर सबैजना नदीमै खटिन्छौँ,” उनी भन्छन्, “महिनामा रु २०–२५ हजार कमाइ हुन्छ, त्यसैले घर धानिन्छ।”

बरसातमा संकट, ठेक्का ढिलोमा बेकाम

स्थानीयका अनुसार, नदीजन्य पदार्थ उत्खननको ठेक्का समयमै खुले राम्रो कमाइ हुन्छ। तर ढिलो गरी ठेक्का खुले मजदुरी खोज्दै हिँड्नुपर्ने बाध्यता आउँछ। बरसातमा भने समस्या अझै गम्भीर हुन्छ। असारदेखि भदौसम्म नदीमा काम निषेधित हुने भएकाले अर्को जीविकाको खोजी गर्नुपर्छ।

न्यौटी नाथका अनुसार, खल्लागोठमा ९० परिवार बसोबास गर्छन्। अधिकांशसँग कम जमिन छ र त्यो पनि अल्प उपज दिने भएकाले प्रायः सबै नदीमै आश्रित छन्।  जीवन दिने नदी, खतरा पनि बनिन्छ कहिलेकाहीँ धनबहादुर विक भन्छन्, “नदीले जीवन दिएको छ, तर कहिलेकाहीँ बाढी आउँदा ज्यानकै जोखिम पनि हुन्छ।”

असार लाग्नासाथ बाढी पस्ने डरले गाउँका धेरै परिवार त्रासमा बाँच्नुपर्ने बाध्यता रहेको उनी बताउँछन्। ४५ घरधुरी बाढीको उच्च जोखिममा रहेका छन्। नदीजन्य पदार्थ उत्खननबाट हुने आम्दानीमध्ये केही हिस्सा तटबन्ध निर्माणमा लगाउनुपर्ने आवाज स्थानीयले पटकपटक उठाउँदै आएका छन्, तर सुनुवाइ भएको छैन।

नदी–गाउँ सम्बन्ध सहजीवी

स्थानीयहरू नदीलाई शत्रु होइन, सहयात्री ठान्छन्। उनीहरूको भनाइ छ—“यसले हाम्रो पेट पालिरहेको छ, तर सुरक्षासमेत जरुरी छ।” गाउँको नाम ‘खल्लागोठ’ राखिनु पनि चाखलाग्दो छ। पहिले पहाडबाट झरेका मानिसहरूले ‘खल्ला’ अर्थात् पानी जम्ने ठाउँमा गोठ राख्थे। यहीबाट कालान्तरमा ‘खल्लागोठ’ नाम रहन गएको हो। गाउँका केही बासिन्दा बालुवासँगै बाख्रापालन पनि गर्छन्। नजिकैको वन क्षेत्र उनीहरूका लागि घाँस–दाउराको स्रोत बनेको छ।

Facebook Comments Box