दैलेखको जलजलेमा मिथेन ग्यासको ठूलो भण्डारण पुष्टि, स्वदेशी ऊर्जा सपना साकार हुने आशा

दैलेख, ५ असार — नेपालको ऊर्जा सुरक्षाका लागि ऐतिहासिक मानिएको दैलेखको जलजले क्षेत्रमा मिथेन ग्यासको विशाल भण्डारण भेटिएको छ। चीनको जियोलोजिकल सर्भे कम्पनीले गरेको प्रारम्भिक अध्ययनले जलजले क्षेत्र मिथेन ग्यासको सम्भावनायुक्त क्षेत्र भएको पुष्टि गरेको छ। कम्पनीले अन्वेषणको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको हो।

२०७८ साल वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो ड्रिलिङ कार्य ४,०१३ मिटर गहिराइसम्म पुर्‍याइएको थियो। परीक्षणमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यास रहेको पत्ता लागेको छ।

यो मात्र चारवटा सम्भावित कुइँकानमध्ये पहिलो कुइँकानको प्रारम्भिक नतिजा हो। बाँकी तीन कुइँकानमा कुल ४३० अर्ब घनमिटर ग्यास हुने अनुमान गरिएको छ, जसले करिब ५० वर्षसम्म नेपालको ग्यास आवश्यकतालाई पूरा गर्न सक्ने प्रक्षेपण गरिएको छ।

नेपाल–चीन बीच सन् २०१९ मा भएको सरकार–सरकार (G2G) सम्झौता अनुसार यो अन्वेषण सुरु गरिएको हो। खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक तथा परियोजना प्रमुख दिनेशकुमार नापितका अनुसार सरकारले ४५ रोपनी सरकारी जमिन छुट्याएर यो वैज्ञानिक अनुसन्धान परियोजना अघि बढाएको हो।

उहाँका अनुसार प्राप्त प्रतिवेदन प्रारम्भिक मात्र हो, अझ विस्तृत परीक्षणमार्फत ग्यासको गुणस्तर, व्यावसायिक उत्पादन र आर्थिक सम्भाव्यता अध्ययन भइरहेको छ। चिनियाँ कम्पनीले सन् २०२५ को डिसेम्बरसम्म अन्तिम प्रतिवेदन बुझाउनेछ भने त्यसपछि व्यावसायिक उत्पादन परीक्षण सुरु गर्ने तयारी गरिएको छ।

वैज्ञानिक रूपमा ग्यास र तेल जस्तै पदार्थ निस्कने पुष्टि भए तापनि स्थानीय बासिन्दाहरूको अनुभवमा जलजले क्षेत्रमा जमिन आफैंबाट ग्यास बल्ने दृश्य नौलो होइन।

२०३६ सालदेखि अन्वेषण प्रयास भइरहेकामा पछिल्लो राजनीतिक र ऊर्जा संकट—विशेषगरी २०७२ सालको भारतको नाकाबन्दीपछि—सरकार स्वदेशी स्रोतप्रति गम्भीर भएको हो।

यो परियोजना चिनियाँ सरकारले पूर्ण अनुदानमा सञ्चालन गरेको पाइलट योजना हो, जसको प्रारम्भिक लागत करिब रु २ अर्ब ५० करोड रहेको बताइएको छ। कोभिड–१९ महामारीलगायत कारणले कार्यान्वयनमा केही ढिलाइ भए पनि परियोजना सफल दिशातर्फ उन्मुख छ।

अन्वेषण र पूर्वाधार निर्माणको क्रममा स्थानीय जनप्रतिनिधि र प्रशासनको सहयोगका कारण कुनै अवरोध नभएको बताइएको छ। खानी विभागले आवश्यक जग्गा अधिग्रहण, सडक, विद्युत् पहुँच र प्रशासनिक संयोजनको सहजीकरण गरेको थियो।

उत्खनन, प्रशोधन र आपूर्तिसम्बन्धी कार्य अघि बढेसँगै स्थानीय क्षेत्रमा रोजगारीका अवसर बढ्ने र उद्योगमैत्री वातावरण विकास हुने विश्वास लिइएको छ। दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र थापाका अनुसार यसले स्थानीय अर्थतन्त्रलाई समेत सकारात्मक प्रभाव पार्नेछ।

प्रारम्भिक अनुमान पुष्टि भएमा नेपाल इन्धन आयातमा निर्भरता घटाउँदै, स्वदेशमै ऊर्जा उत्पादन र वितरण गर्न सक्षम हुने महत्त्वपूर्ण मोडमा प्रवेश गर्नेछ।

Facebook Comments Box