आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, ३ असार – हाल कोशी, मधेस, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। त्यस्तै, देशको पश्चिमी भूभागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका सबै प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। त्यस्तै, ती प्रदेशका उच्च पहाडी र हिमाली भेगमा हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

बाँकी उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा समेत हल्का वर्षा र हिमपात हुनसक्ने चेतावनी दिइएको छ। आज रातिसमेत देशभर आंशिकदेखि साधारण बदली रहने छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको विज्ञप्तिमा उल्लेख छ। मौसम पूर्वानुमान महाशाखाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

Facebook Comments Box