पाँच वर्षमा पनि पूरा भएन सिरहाको गोलबजार–लगडी–गदियानी सडक
सिरहा, ३ असार – दुई वर्षमै निर्माण सम्पन्न हुने भनिएको सिरहाको गोलबजार–लगडी–गदियानी सडक पाँच वर्ष बितिसक्दा पनि अधुरै रहेको छ। सिरहा नगरपालिका, अर्नमा गाउँपालिका र गोलबजार नगरपालिकालाई जोड्ने यो २८ किलोमिटर लामो सडक निर्माणको ढिलाइका कारण स्थानीय बासिन्दा वर्षौँदेखि हिलो र धुलोको सास्ती बेहोरिरहेका छन्।
स्थानीय जगेश्वर यादवका अनुसार सुरुमा सडक पक्की हुने खबरले उत्साहित बनेका नागरिक अहिले निराश छन्। “सडक छेउ खनेर त्यसै छाडिएको छ। न त सवारी चलाउन सकिने, न हिँड्नै सकिने। हिलो र धुलो नै हाम्रो नियति बनिसक्यो,” उहाँको गुनासो छ।
त्यस्तै, अर्नमा गाउँपालिका–३ का सिकेन्द्र यादवले चुनावको समयमा सडकलाई मुख्य मुद्दा बनाए पनि काम भने अझै पूरा नभएको बताउनुभयो। “निर्माण सुरु हुँदा केही आशा पलाएको थियो, तर अहिले स्थिति जस्ताको तस्तै छ,” उहाँको भनाइ छ।
यो सडक २०७७ साल भदौमा हुलाकी सडक निर्देशनालय, जनकपुरमार्फत निर्माण सुरु भएको हो। तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले शिलान्यास गर्दै २०७९ फागुन २३ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर पाँच वर्षको अवधिमा सडकका केही भागमा नाला बनाउने र ग्राभेल हाल्ने बाहेक ठोस प्रगति हुन सकेको छैन।
हालसम्म भौतिक प्रगति जम्मा २८ प्रतिशत मात्र रहेको निर्देशनालयका प्रमुख कृष्णकुमार महतोले जानकारी दिनुभयो। उहाँका अनुसार ठेकेदार कम्पनीलाई दुईपटक म्याद थप गरिसकिएको छ भने अब अन्तिमपटक एक वर्ष म्याद थप्ने तयारी गरिएको छ। निर्देशनालयले यो सडकका लागि ९१ करोड ३९ लाख रुपैयाँ ठेक्का सम्झौता गरेको थियो।
अहिलेसम्म करिब २५ करोड रुपैयाँ भुक्तानी भइसकेको छ। अर्नमा गाउँपालिकाका अध्यक्ष अशोक यादवका अनुसार पटक–पटक अनुरोध गर्दा पनि निर्माण कम्पनी सम्पर्कमै आउन छाडेको छ। “निर्देशनालय र निर्माण कम्पनीको लापरबाहीले सर्वसाधारणलाई सास्ती भोग्न बाध्य बनाएको छ,” उहाँको गुनासो छ। निर्देशनालयले भने अबको म्यादभित्र पनि काम नसकिए कारबाही प्रक्रिया सुरु गर्ने चेतावनी दिएको छ।

