हुम्लाको उनापानीमा भीषण आगलागी, आठ घर पूर्ण रूपमा नष्ट

हुम्ला, २ असार — हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा गएराति भएको भीषण आगलागीबाट आठ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्थानीय वासिन्दा विर्ख रावतको गोठबाट सुरु भएको आगलागी आज बिहानसम्म नियन्त्रणमा आउन सकेको थिएन। आगलागीको कारण भने यकिन हुन सकेको छैन।

“सुरुमा आगलागी हुने गोठका धनी विर्ख रावतको परिवार अहिले लेखमा बस्दै आएका थिए,” स्थानीय धनबहादुर रावतले जानकारी दिनुभयो। घटनास्थलमा राति नै सर्केगाड प्रहरी चौकीका प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वमा प्रहरी टोली पुगेको थियो। आगो नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो।

पीडितहरूमा विजन फडेरा, धनबहादुर रावत, जनक रावत, विर्ख रावत, पाले फडेरा, लालकौरा फडेरा, दुधशिला फडेरा र बाटुल्ली फडेरा रहेका छन्। आगलागीले घरसँगै भित्र रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, नागरिकता, लालपुर्जा, अन्य महत्वपूर्ण कागजातहरू र नगदसमेत जलेर नष्ट भएको पीडित धनबहादुर रावतले बताउनुभयो। सौभाग्यवश, आगलागीबाट मानवीय क्षति भने भएको छैन। आगो पूरै नियन्त्रणमा आइसकेपछि मात्रै क्षतिको विस्तृत विवरण आउने जिल्ला प्रहरीले जनाएको छ।

Facebook Comments Box