प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्ने, एमाले बैठकमा नआउने
काठमाडौँ, ४ पुस – प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ। शनिबार साँझै स्रोतले दिएको जानकारीअनुसार संसद् बैठकमा एमालेले निरन्तर जारी राखेको अवरोध खुलाउने विषयमा छलफल गर्न आज अपराह्न ४ बजे सर्वदलीय बैठक बस्ने भएको हो।
बैठकमा आउन प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाएका भए पनि एमालेले भने शनिबारै आफू नआउने बताइसकेको छ। एमालेले गत भदौ २३ गतेदेखि प्रतिनिधि सभाका हरेक बैठकमा अवरोध र विरोध गरिरहेको छ।
‘संसद् लामो समयदेखि अवरुद्ध भइरहेकाले पहिलो एजेन्डा त्यही खुलाउने नै छ’, देउवा निकट स्रोतले भनेको छ। स्रोतका अनुसार एमालेको अवरोधकै कारण केही महत्त्वपूर्ण विधेयक र अध्यादेश संसदमा पेस हुन पाएको छैन। यसैगरी एमसीसीको विषय पनि संसदमा टेबल हुन पाएको छैन।
‘आइतबारको मुख्य कुरा भनेकै अवरुद्ध संसद् खुलाउने हो, त्यो खुले एमसीसीलगायतका विषयमा छलफल गर्न सकिन्छ’, स्रोतले थप्यो। यसैबीच सर्वदलीय बैठक बस्नुअघि सत्ता गठबन्धनमा रहेका पाँच दलबीच छलफल हुने भएको छ। गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा सम्भवतः दिउँसो १ बजेतिर बस्ने स्रोतले जानकारी दिएको छ।
‘सर्वदलीय बैठकअघि सत्ता गठबन्धनको बैठक बस्छ’, स्रोतले भन्यो, ‘त्यसपछि सर्वदलीय बैठक बस्नेछ।’ एमसीसी पनि संसदमा पेस गर्ने योजनामा रहेको सरकार संसद् बैठक सञ्चालन नहुँदा अप्ठेरोमा परेको छ। यसैले अवरोध खुलाउने विषयमा छलफलका लागि प्रधानमन्त्री देउवाले शुक्रबार सत्ता गठबन्धनका एक घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सर्वदलीय बैठक बोलाउनेबारे छलफल गरेका थिए।
त्यही सल्लाहबमोजिम आज सर्वदलीय बैठक राख्न लागिएको हो। दिउँसो बस्ने सत्तारूढ गठबन्धनको बैठकमा साझा धारणा बनाएर सर्वदलीय बैठकमा पेस गर्ने एजेन्डा तयार गर्ने योजना छ। संसद् बैठक यही पुस ६ गते बस्दै छ

