महिला हिंसा न्यूनीकरणका लागि ‘पुरुष सञ्जाल’
झापा, १ जेठ – लैङ्गिक हिंसा न्यूनीकरणका लागि मेचीनगर नगरपालिकामा पुरुष सञ्जाल गठन भएको छ । मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीको अध्यक्षतामा बुधबार बसेको भेलाले १५ सदस्यीय सञ्जाल गठनको निर्णय गरेको हो ।महिलाले भोग्नु परिरहेका हिंसा न्यूनीकरण गर्न महिला मात्रै सक्रिय भएर नहुने भन्दै पुरुषलाई समेत हिंसामुक्त समाज निर्माणको हिस्सेदार बनाउन सञ्जाल गठन गरिएको नगरप्रमुख बुढाथोकीले बताउनुभयो ।
नवगठित पुरुष सञ्जालको संयोजकमा पत्रकार मोहन काजी र सचिवमा शिक्षासेवी हिम्मत क्षेत्री रहनुभएको छ । सदस्यमा रुपसागर अधिकारी, केसाङ लामा, हेमेन्द्र निरौला, अपूर्व डाँगी, मञ्जिल देवान, मनकुमार लिम्बू, तिलक श्रेष्ठ, ईश्वर रिजाल, गणेशबहादुर कार्की, सचेत घिमिरे, कृष्ण श्रेष्ठ, थेसिस रुचाललगायत रहनुभएको छ ।
लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजनाअन्तर्गत गठन भएको सञ्जालले मेचीनगर नगरपालिकाका १५ वटै वडामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । समाजमा महिला नै बढी मात्रामा लैङ्गिक हिंसाको सिकार भइरहेको जनाउँदै परियोजनाकी लैङ्गिक हिंसाविरुद्धकी विज्ञ कमला उप्रेती रिजालले समतामूलक नीति निर्माण,
न्यायसङ्गत कानुन कार्यान्वयन र पितृसत्तात्मक सोचका विरुद्धको आवाजमा पुरुष सञ्जालले बल प्रदान गर्न विश्वास व्यक्त गर्नुभयो । अखिल नेपाल महिला सङ्घकी जिल्ला सदस्य जानुका ओली, उपभोक्ता जागरण अभियान मेचीनगरकी अध्यक्ष रचना घिमिरेलगायतले हिंसाविरुद्ध सबै मिलेर जानुपर्नेमा जोड दिनुभयो ।

