बिपीमा सञ्जिवकुमार शर्मा तथा कर्णालीमा डबलबहादुर धामी निमित्त उपकुलपति नियुक्त

काठमाडौँ, ८ वैशाख – बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा सञ्जिवकुमार शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी प्रदान गरिएको छ । प्रधानमन्त्री तथा कुलपति स्तरीय निर्णयानुसार प्रतिष्ठानका शिक्षाध्यक्ष शर्मालाई प्रतिष्ठानको दैनिक प्रशासनिक, शैक्षिक तथा आर्थिककार्य गर्ने अधिकारसहित जिम्मेवारी दिइएको हो ।

नयाँ उपकुलपति सिफारिश भई नियुक्ति नभएसम्मका लागि निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको प्रतिष्ठानका प्रवक्ता प्राडा अन्जु प्रधानले जानकारी दिनुभयो । शिक्षाध्यक्ष शर्माले यसअघि पनि निमित्त उपकुलपतिको जिम्मेवारी सम्हाल्नु भएको थियो । डा ज्ञानेन्द्र गिरीको उपकुलपतिको कार्यकाल गत चैत २६ गते समाप्त भएको थियो ।

साथै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा सह–प्राध्यापक डा डबलबहादुर धामी नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले यही वैशाख ४ गतेको निर्णयअनुसार रिक्त उपकुलपति पदको निमित्त जिम्मेवारीमा डा धामीलाई दिइएको प्रतिष्ठानले जनाएको ।

प्रतिष्ठानका शिक्षाध्यक्ष (रेक्टर)समेत रहनुभएका डा धामीलाई शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सूचारु गर्ने अधिकारसहति निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो । यसअघि प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलको पदावधि गत चैत २१ गते सकिएपछि उक्त पद रिक्त रहेको थियो ।

Facebook Comments Box