नवलपरासी पश्चिमको घटनाका सम्बन्धका दुई पक्षबीच सहमती

काठमाडौं, १५ फागुन – एक जोडीले भागेर विवाह गरेको विषयलाई लिएर मंगलबार दिनभरि तनावग्रस्त बनेको नवलपरासी पश्चिमको घटनाका सम्बन्धका दुई पक्षबीच सहमती भएको छ । झडपमा उत्रिएका दुवै पक्ष (केटा पक्ष र केटी पक्ष) र प्रशासनका बीच बिहीबार सहमति भएको हो ।

नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले प्रशासन र झडप गर्ने पक्षबीच सहमति टुंगिएर शव समेत परिवारले बुझिसकेको बताए ।

‘प्रशासन र उहाँहरूबीच सहमति भइसकेको छ । त्यसपछि शव बुझेर दाहसंस्कारका लागि समेत लगिसक्नु भएको छ,’ रेग्मीले अनलाइनखबरसँग भने ।

अहिले नवलपरासी प्रहरीको हिरासतमा ६ जना छन् । घटनाको विषयमा सत्य तथ्य छानबिन गरेर निर्दोष देखिएमा उनीहरूलाई छाड्नेबारे सहमतिपत्रमा उल्लेख गरिएको छ ।

घटनाको अनुसन्धान गरेर दोषीमाथि कडा कारबाही गरिनुपर्ने र पीडित परिवारलाई राहत उपलब्ध गराउनेबारे सहमति पत्रमा उल्लेख गरिएको रेग्मीले बताए ।

सामाजिक सद्भाव बिग्रन नदिने सबै पक्ष एकजुट भएर काम गर्ने र शान्ति सुरक्षा मजबुत पार्ने लगायतका विषयहरू सहमतिपत्रमा उल्लेख गरिएको छ ।

सहमति भइसकेपछि केटीका दाजुले चलाएको भ्यानको ठक्करबाट मृत्यु भएका विजय धवलको शव परिवारले बुझेर दाहसंस्कारका लागि लगिसकेका छन् ।

नवलपरासी पश्चिमको पालिनन्दन गाउँपालिका–३ बेलासपुरकी सहाना खातुन र सोही ठाउँका युवा डाक्टर धोबीबीचको प्रेम सम्बन्ध र विवाहले निम्त्याएको आक्रोशका कारण मंगलबार ज्यान जानेसम्मको घटना भएको थियो ।

धोबीले खातुनलाई भगाएर विवाह गरेपछि केटा र केटी पक्षबीच करिब दुई महिनादेखि विवाद हुँदै आएको थियो । एक प्रहरी अधिकृतका अनुसार सोमबार मात्रै केटी पक्षले केटाका भाइलाई ‘हाम्री छोरी कहाँ बेपत्ता पारिस्’ भन्दै कुटपिट गरेका थिए ।

आफ्नो मान्छे कुटिएपछि त्यसको बदला लिन भन्दै केटा पक्षका मान्छेहरू केटीको घर पुगे । त्यही बेला झडप भएको प्रहरीको भनाइ छ ।केटीका दाइले पिकअप भ्यानले ठक्कर दिएर दुई जनालाई घाइते समेत बनाएका थिए । घाइतेमध्ये विजय धवलको मृत्यु भएको थियो ।

गाडीको ठक्करबाट घाइते भएका अर्का व्यक्ति वैद्यनाथ लौनियाको भने उपचार भइरहेको छ । त्यसपछि केटा पक्षले केटीको दाइको कवाडी पसलमा आगजनी गरेका थिए ।

यही आगजनीमा पर्न लागेका एक व्यक्तिलाई उद्धार गरेर लैजाने क्रममा इलाका प्रहरी कार्यालय महेशपुरको बा१झ ७४४८ नम्बरको भ्यान नै जलाइएको थियो ।

Facebook Comments Box