लेबनानलाई १-० गोल अन्तरले पराजित गर्दै नेपाल एक खेलअगावै फाइनलमा

काठमाडौँ, ८ फागुन – फरवार्ड सावित्रा भण्डारी साम्बाको निर्णायक गोलमा नेपाल घरेलु मैदानमा जारी फोर नेसन्स अन्तराष्ट्रिय च्याम्पियनसिपको फाइनलमा पुगेको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बिहिबार भएको खेलमा लेबनानलाई १-० गोल अन्तरले पराजित गर्दै नेपाल एक खेलअगावै फाइनलमा पुगेको हो।

लेबनानको लगातार दोस्रो हारले म्यानमार पनि एक खेल अगावै फाइनलमा पुगेको छ। नेपालले पहिलो खेलमा किर्गिस्तानलाई १-० गोल अन्तरले नै हराएको थियो। पहिलो खेलमा म्यानमारसँग ३-१ ले पराजित भएको लेबनान दोस्रो खेलमा पनि नेपालसँग पराजित भएको हो।

आजै भएको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई ५-० को फराकिलो अन्तरले हराएको थियो। जितसँगै अपराजित रहेका म्यानमार ६ अंकमा शीर्ष र समान अंक भएको नेपाल दोस्रो स्थानमा छ।

नेपालले अब अन्तिम खेलमा आइतबार म्यानमारविरुद्ध खेल्नेछ। फाइनल पुगिसकेका दुवै टोलीबीचको सो खेल फाइनल अघिको अभ्यास हुनेछ। सोही दिन लेबनान र किर्गिस्तान भिड्नेछन्। यी दुवै टोली सान्त्वना जितका लागि मैदान उत्रिनेछन्।

बिहीबार भएको खेलको ४२ औँ मिनेटमा साम्बाको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो। विमला चौधरीको कर्नरमा सविता रानामगरको हेडर लेबनानका खेलाडीले क्लियर गरेपनि त्यसकै रिवाउन्डमा साम्बाको प्रहार लेबनानकी फराह टेलरलाई लाग्दै गोलमा परिणत भएको थियो।

त्यसपछि नेपालले खेलमा थप गोल गर्ने मौका पाए पनि सदुपयोग भने गर्न सकेन। खेलको इन्ज्युरी समयमा लेबनानकी ज्वाहा अरबीको प्रहार क्रसबारमा लाग्दै फर्कियो। खेलको ५६ औँ मिनेटमा प्रीति राईको फितलो प्रहार लेबनानकी गोलरक्षकको हातमा सहजै पुग्यो।

५८ औँ मिनेटमा साम्बाको पासमा सविता रानामगरको प्रहार क्रसबारको माथिबाट आकासियो। ७३ औँ मिनेटमा विमला चौधरीको कर्नरमा प्रिती राईको प्रहार आकासियो।

त्यसअघि पहिलो हाफको आठौँ मिनेटमा क्रिष्टी मलौफको प्रहार नेपालकी गोलरक्षक एञ्जिाल तुम्बो सुब्बाले पन्च गर्दै जोगाइन्। दशौँ मिनेटमा विमला चौधरीको हेडर क्रसबारको माथिबाट आकासियो। तेहौँ मिनेटमा लाला स्कन्दरको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो।

खेलको पन्धौँ मिनेटमा प्रीति राईको प्रहार क्रसबारको माथिबाट बाहिरियो। २२ औँ मिनेटमा रेखा पौडेलको ब्याक पासमा सावित्रा भण्डारीको प्रहार पनि सेकेण्ड बारको नजिकबाट बाहिरिएको थियो। निर्णायक गोल गरेकी साम्बा नै आजको खेलको उत्कृष्ट खेलाडी बनिन्।

Facebook Comments Box