डा शेखर कोइराला र बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय संसदीय समितिको अध्यक्ष अलेक्स बेकरसँग भेटघाट
काठमाडौँ, ३ माघ – बेलायत भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय संसदीय समितिको अध्यक्ष अलेक्स बेकरसँग भेटघाट गर्नुभएको छ । लण्डनस्थित नेपाली राजदुतावासमा भएको भेटघाटमा बेकरसँग कोइरालाले निम्न कुराहरु राख्नुभयो ।
१. भुपु गोर्खा सैनिकहरुको सेवा सुबिधा समस्याको समाधान हुनुपर्ने ।
२. ब्रिटिस एअरवेजको लण्डन – काठमाडौ सिधा हवाई उडान हुनुपर्ने ।
३. जलवायु परिवर्तनका कारण नेपाल संकटमा छ, हिउँ पग्लेर हिमालहरु कुरुप बनिरहेका छन् । जलवायु परिवर्तनका कारण नेपालले जुन क्षेती व्यहोरिरहेको छ त्यसका लागि नेपालले क्षेतिपुर्ती पाउँनुपर्ने र त्यसका लागि बेलायतले सहयोग गरिदिनुपर्ने ।
बेकरले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गरिन ।भेटघाटमा बेलायतका लागि कार्यबाहक राजदुत बिपिन दुवाडी पनि हुनुहुन्थ्यो ।
डा शेखर कोइरालाले संसद भवन (हाउस अफ कमन्स) मा बेलायतका संसदिय मामिला तथा कानुन उपमन्त्री सर निक डकिनसँग भेटघाट गर्नुभएको छ । भेटमा कोइराला र डकिनबिच नेपालको मानव अधिकारको अवस्था, संक्रमणकालीन न्याय जस्ता बिषयमा कुराकानी भयो ।

नेता डा शेखर कोइरालासँग भेटेपछि बेलायती संसदको तर्फबाट नेपाल हेर्ने सर्वदलीय संसदीय समितिको अध्यक्ष अलेक्स बेकरले बेलायतको संसदमा नेपालबारे आफ्नो धारणा राख्नुभएको छ ।
कोइरालाले बेलायतका स्वास्थ्य उपमन्त्री एन्ड्रु गिन्नेसँग भेटघाट गर्नुभएको छ । कोइरालाले संसद भवन (हाउस अफ कमन्स) मा गिन्नेलाई भेट्नुभएको हो ।
भेटमा नेपालको स्वास्थ्य क्षेत्रको अवस्था र स्वास्थ्य बिमाका बारेमा कुराकानी भएको छ ।कोइरालाले नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि गिन्नेसँग सहयोगको माग समेत गर्नुभयो ।

