लगातारको वर्षापछिको बाढीले कैलाली र कञ्चनपुरका २ सय बढी परिवार विस्थापित

काठमाडौँ, २९ भदौ – लगातारको वर्षापछिको बाढीले कैलाली र कञ्चनपुरका २ सय बढी परिवार विस्थापित भएका छन्। वर्षापछि नदी, खोलानालामा पानीको सतह बढेको छ। कैलाली र कञ्चनपुरका शहरदेखि गाउँ बस्ती डुबानमा परेका छन्। कञ्चनपुरमा महाकालीसँगै अन्य नदीनालामा आएको बाढीका कारण आधा दर्जन बस्तीका एक सय बढी परिवार विस्थापित भएका छन्।

दोधारा चाँदनी, भीमदत्त र पुनर्वास नगरपालिकामा नदीनालाको बाढी बस्तीमा पसेका कारण स्थानीय विस्थापित भएका हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार पुनर्वास नगरपालिकामा दोदा नदीको बाढी बस्तीमा पस्दा ४५ परिवार विस्थापित भएका छन्। महाकालीको बाढीले भुजेला खोलाको पानी रोकिँदा भीमदत्त नगरपालिका–११, १२ र १३ मा ३० परिवार विस्थापित भएका छन्।

महाकालीकै बाढीले जोगबूढा नदीको बहाव रोकेपछि दोधारा चाँदनी नगरपालिका–१० का कुतियाकबर, सोही पालिकाको सुन्दरनगर र पटेरा खल्लाका झण्डै ६० परिवार विस्थापित भएका छन्। यस्तै, डुबानका कारण कैलालीमा ४ सय ३८ परिवार प्रभावित भएका छन्।

त्यहाँको टीकापुर नगरपालिका, जानकी गाउँपालिका–४ सुकुम्बासी टोल, कैलारी गाउँपालिका–७ बसन्ता, जोशीपुर गाउँपालिका–३ भितरिया, कैलारी–५ मनिकापुर र भजनीमा बाढीले स्थानीय बढी प्रभावित बनेका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार एक सय ६२ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। यस्तै, टीकापुर नगरपालिकाका एक सय १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

जानकी गाउँपालिका–७ फरेलामा त्यहाँका बाढी प्रभावित १७ परिवारलाई राखिएको छ। सोही पालिकाको वडा नम्बर ४ मा १५ परिवारलाई उच्च सुरक्षित स्थानमा सारिएको छ। भजनी नगरपालिका–९ खुरखरीया स्थित गुप्तेश्वर आधारभूत विद्यालयमा १३ परिवारले आश्रय लिएका छन्। जोशीपुर गाउँपालिका–३ का दुई परिवारलाई स्थानीय जनहित सामुदायिक वनको भवन र गोदावरी नगरपालिका–११ का दुई परिवारलाई अर्का स्थानीयको सुरक्षित घरमा सारिएको छ।

Facebook Comments Box