छत्रपति शिवाजी महाराजको प्रतिमा हावाले ढालेपछि नरेन्द्र मोदी सरकारको आलोचना

काठमाडौँ, ११ भदौ – भारत महाराष्ट्रको सिन्धुदुर्ग जिल्लामा पर्ने राजकोट गढीमा स्थापित छत्रपति शिवाजी महाराजको प्रतिमा हावाले ढालेपछि नरेन्द्र मोदी नेतृत्वको सरकारको आलोचना भएको छ । प्रधानमन्त्री मोदीले सन् २०२३ को डिसेम्बर ४ मा नौसेना दिवसको अवसरमा प्रतिमा अनावरण गरेका थिए ।

भारतीय नौसेनाले निर्माण र स्थापना गरेको उक्त प्रतिमा ३५ फिट अग्लो थियो । एक वर्ष नपुग्दै प्रतिमा ढलेर टुक्राटुक्रा भएपछि विपक्षी दलहरुले त्यसको गुणस्तर र अनावरण गर्ने मोदीको हतारोमा प्रश्न उठाइरहेका छन् । कांग्रेसले सामाजिक सन्जाल एक्समा भाजपा नेतृत्वको सरकार भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

कांग्रेसले लेखेको छ, ‘भाजपा सरकारमा चरम भ्रष्टाचार छ । करिब ८ महिनापछि छत्रपति शिवाजी महाराजको प्रतिमा ढलेको छ । हालत यस्तो छ कि भ्रष्टाचारको मामलामा महापुरुषहरुलाई पनि बाँकी राखिएको छैन ।’ उद्धव बालासाहेब ठाकेरे नेतृत्वको शिवसेनाका विधायक वैभव नाइकले यो घटनाको जाँच गर्न र दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

महाराष्ट्र राज्यका मुख्यमन्त्री एकनाथ शिन्देले ४५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा चलेको हावाका कारण प्रतिमा ढलेको बताएका छन् । यसलाई दुर्भाग्य भन्दै उनले त्यो ठाउँमा छत्रपति शिवाजी महाराजको प्रतिमा पुनर्निर्माण गरिने बताएका छन् ।

Facebook Comments Box