रास्वपाबाट प्रचण्ड नेतृत्वको सरकारमा रहेका चारै मन्त्रीले आज राजीनामा दिँदै

काठमाडौँ, २० असार – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रचण्ड नेतृत्वको सरकारमा रहेका चारै मन्त्रीले आज राजीनामा दिँदै छन्। रास्वपाबाट सरकारमा रहेका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन्। रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले आजै सरकार छाड्न लागिएको जानकारी दिए।

‘आज हाम्रै चारै मन्त्रीहरूले राजीनामा दिनुहुन्छ’, उनले भने, ‘सरकार परिवर्तन भइसक्यो, अब किन बस्ने?’ यसअघि बुधबार नेकपा एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिइसकेका छन्। नेकपा माओवादी केन्द्रसँगको गठबन्धन लत्याउँदै नेकपा एमालेले गत सोमबार मध्यराति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति गरेपछि सरकार परिवर्तन हुन लागेको हो।

एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार अल्पमतमा परिसकेको छ। पार्टीभित्र आन्तरिक विवाद चर्किएकै बेला सत्ता गठबन्धन परिवर्तन भएपछि रास्वपा पनि सरकारबाट बाहिरिने भएको हो।

Facebook Comments Box