चोभार डाँडामा भएको आगलागी निभाउन गएको दमकल दुर्घटना हुँदा ६ जना घाइते

काठमाडौँ, ८ वैशाख – काठमाडौँ कीर्तिपुरस्थित चोभार डाँडामा भएको आगलागी निभाउन गएको दमकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष अब्दुल खानकै निवास नजिक अज्ञात व्यक्तिले जंगलमा आगो लगाएपछि निभाउने जाने क्रममा दमकल (वरुण यन्त्र) पल्टिएको हो।

दुर्घटनामा चालकसहित ६ जना गम्भीर घाइते भएको खानको निजी सचिवालयले जानकारी दिएको छ। प्रहरी वृत्त कीर्तिपुरले पनि दुर्घटनाको पुष्टि गर्दै महानगरपालिकाकै दमकल भएको जानकारी दिएको छ।

प्रहरीका अनुसार घटना दिउँसो १ बजेको घटना हो। स्थानीयको खबरपछि चोभार जंगलमा लागेको आगो निभाउन काठमाडौँ महानगरपालिकाका चारवटा दमकल गएका थिए। त्यस क्रममा एउटा दमकल दुर्घटनामा परेको हो।

‘आगो त नियन्त्रणमा लिन सफल भयौँ, तर एउटा दमकल दुर्घटना भयो’, घटनास्थलमा खटिएका एक प्रहरीले भने, ‘आगो नियन्त्रणमा नलिएको भए नजिकै बस्तीलाई भेट्ने खतरा थियो।’ घाइतेहरूको विवरण आउन बाँकी छ।

Facebook Comments Box