आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ, २९ चैत – हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला कोशी प्रदेशमा आंशिक बदली छ। त्यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने देशका बाँकी भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी प्रदेशसहित देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको थोरै स्थानसहित बाँकी पहाडी भूभागका एकदुई स्थानमा दिउँसाे मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। आज दिउँसो देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
आज राति पनि कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहनेछ। राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।