अस्ट्रेलियाले ‘नो ट्राफिक भाइलेसन रेकर्ड’ सिफारिस माग्न थाल्यो

काठमाडौँ, ३ माघ – अस्ट्रेलियाले नेपालसहित अन्य देशबाट गएका सवारी चालक अनुमतिपत्र बाहकसँग ‘नो ट्राफिक भाइलेसन रेकर्ड’ सिफारिस माग्न थालेको छ। यसअघि विदेश जाँदा पुलिस रिपोर्ट मात्रै माग्ने गरेको अस्ट्रेलिया सरकारले अबदेखि ‘नो ट्राफिक भाइलेसन रेकर्ड’ सिफारिस पनि माग्न थालेको हो।

‘नेपालको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) भएका र विदेशमा पनि बनाउन चाहनेसँग अस्ट्रेलियाले यस्तो सिफारिस माग्न थालेको छ, ’ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्टले भने, ‘अस्ट्रेलियामा लाइसेन्स बनाउँदा हाम्रो कार्यालयमा ‘नो ट्राफिक भाइलेसन रेकर्ड’को सिफारिस लिन आइरहनु भएको छ। ट्राफिक भाइलेसनले भविष्यमा असर गर्नसक्ने हुँदा चालक सचेत हुन आवश्यक छ।’

प्रहरीले सामाजिक सञ्जाल, रेडियो र प्रहरी अनुरोध टेलिभिजन कार्यक्रमबाट ट्राफिक सचेतना दिइरहेको छ। ट्राफिक नियम उल्लंघन गर्नेका लागि ट्राफिक सचेतना कक्षा पनि चलाइरहेको छ।

पछिल्लो समय नेपालबाट विद्यार्थी भिसामा अस्ट्रेलिया जाने नेपालीको संख्या ठूलो छ। विभिन्न सुविधा नेपालसहित अन्य देशबाट विद्यार्थीहरू आउने क्रम बढिरहँदा अस्ट्रेलियाले कानुन पनि कडा बनाउँदै लगेको छ।

पछिल्लो समय अस्ट्रेलियाले विद्यार्थीहरूका लागि कडा सर्तसहितको नियम बनाइरहेका बेला ड्राइभिङ लाइसेन्ससम्बन्धी प्रावधान पनि कठिन बनाउँदै लगेको हो।

अस्ट्रेलियामा सवारी चालक अनुमति पत्र पाउना विभिन्न चरणका जाँचमा उत्तीर्ण हुनु पर्छ। नेपालसहितका देशको लाइसेन्स भएमा त्यसलाई अस्ट्रेलियाली लाइसेन्समा परिणत गर्न सकिन्छ।

अस्ट्रेलियामा लाइसेन्स पाउन सजिलो छैन। त्यहाँ विभिन्न चरणका परीक्षा पास गरेपछि मात्रै चालक अनुमति पत्र लिन पाइन्छ। यसका साथै सम्बन्धित व्यक्तिले चलाउने चाहेको गाडीमा पनि धेरै कुरा निर्भर हुन्छ।

अस्ट्रेलियामा कारको लाइसेन्सको प्रक्रिया र मोटरसाइकलको लाइसेन्सको प्रक्रिया अलग्गै छन्। यात्रुवाहक गाडी, मालवाहक गाडीको चालक अनुमति पत्र लिने प्रक्रिया अलग अलग हुन्छ।

अस्ट्रेलियामा १६ वर्षबाटै ‘लर्नर लाइसेन्स’ झिक्न सकिन्छ। त्यसका लागि आँखाको र ज्ञानको परीक्षा (नलेज टेस्ट) पनि दिनु पर्छ। ज्ञानको परीक्षामा सडक नियमहरूबारेका प्रश्नको उत्तर दिनुपर्छ।

Facebook Comments Box