आमरण अनशन बस्न गेटा मेडिकल कलेज, पुगेका डा. गोविन्द केसीलाई अवरोध

काठमाडौँ, २९ मङ्सिर – आमरण अनशन बस्न गेटा मेडिकल कलेज, धनगढी पुगेका चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीलाई संघर्ष समितिले अवरोध गरेको छ ।

सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले शुक्रबार बेलुकी ५ बजेदेखि तीनदिन अनशनमा बस्ने घोषणा गरेका थिए ।

अनशनमा बस्न धनगढी पुगेका उनलाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सदस्यहरुले अवरोध गरे । डा. केसीले गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्नुपर्ने माग गरेका थिए ।

तर आफूहरुको माग विश्वविद्यालय भएकाले केसीलाई साथ दिन नसक्ने संघर्ष समितिका सदस्यहरुले बताए । गेटामा प्रवेश गर्न नपाएपछि डा. केसीले आक्रोश पोखेका छन् ।

आफू सुदूरपश्चिमका लागि लडेको भन्दै उनले भने, ‘एक्लो देखेर पुलिस लगाउने ? धम्की दिने ?’ अब डा. केसी लक्ष्मीनारायण मन्दिरमा अनशन बस्ने उनका सहयोगी डा. अमृत जैशीले जानकारी दिए ।

Facebook Comments Box