१९ औं एसियन गेम्समा आज नेपालले १० खेलमा प्रतिस्पर्धा गर्दै

काठमाडौं, ८ असोज – चीनको हाङझाउमा जारी १९ औं एसियन गेम्स अन्तर्गत आज (सोमबार) १० खेलमा नेपाली खेलाडीले आफ्नो चुनौती प्रस्तुत गर्दैछन्। एसियाड अन्तर्गत सोमबार महिला फुटबल, जुडो, बक्सिङ, थ्री बाई थ्री बास्केटबल, टेनिस, रग्बी, उसु, फेन्सिङ र तेक्वान्दोमा गरि १० खेलमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

टेनिसमा नेपालले आज सिंगल्स र डबल्सतर्फ प्रतिस्पर्धा गर्दैछ। मिक्स डबल्सको दोस्रो चरणमा पुरुषतर्फ नेपालले इन्डोनेसियासँग खेल्दैछ। महिलातर्फ भने अभिलाषा विष्ट र माहिका राणाको जोडीले पहिलो राउण्डमा कोरियासँग खेल्दैछन्।मेन्स सिंगल्सको दोस्रो राउण्डमा प्रदीप खड्काले जापानका मोचिजुकी शिन्तारोसँग खेल्दा अविशेक बास्तोलाले हङकङका वोङ चक लाम कोलम्यानसँग खेल्नेछन्।

बक्सिङतर्फ पुरुष ४६ केजी तौलमाथिको समहुमा नेपालका रविन थापाले इन्डोनेसियाका कोइबानु डियोको सामना गर्नेछन्। महिलातर्फ ६० केजी तौलमाथिको समुहमा बिनिता मगरले चाइनिज ताइपेइकी नियन चिनसँग स्पर्धा गर्नेछिन्। पुरुष ६३ केजी तौलमाथिको समुहमा दिपेश लामाले भारतका निशान्त देवसँग खेल्नेछन्।

फेन्सिङको पुरुषतर्फ योञ्जन पायस, राजेन्द्र गजुरेलले तथा महिलातर्फ मन्दीरा थापा, गोमा आचार्यले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। जुडोतर्फ महिला ५७ केजी मुनिको तौल समुहमा मनिता प्रधान श्रेष्ठले तुर्केमिनिस्तानकी खेलाडीसँग स्पर्धा गर्दैछ्न्। पुरुष ८१ केजी मुनिको तौल समुहमा जंग बहादुर सारुले फिलिपिन्सको खेलाडीसँग खेल्नेछन्। महिला ७० केजी मुनिको तौल समुहमा पुनम श्रेष्ठले मंगोलियाको खेलाडीसँग स्पर्धा गर्नेछिन्।

तेक्वान्दोको राउण्ड अफ ३२ तर्फ पुरुष ५८ केजी मुनिको तौल समुहमा राहुल कुमालले साउदी अरेबियाका रियाद नासार हम्दीसँग खेल्नेछन्। महिला ४९ केजी मुनिको तौल समुहमा अञ्जली तामाङले कम्बोडियाकी खेलाडीसँग स्पर्धा गर्नेछिन्। उसुको ६५ केजी तौल समुहमा नेपालका समन घुश्रीले थाइल्याण्डका चनाचाई कमोलक्लाङसँग स्पर्धा गर्नेछन्।

आजै महिला फुटबल र थ्री बाई थ्री बास्केटबलमा नेपाल र जापान भिड्दैछन्। रग्बी सेभेन्समा नेपाल र फिलिपिन्स तथा नेपाल र थाईल्याण्ड खेल्ने तालिका छ। स्वीमिङमा पनि आजै नेपाली खेलाडीले आफ्नो चुनौती दिनेछन्।

Facebook Comments Box