सुवास नेम्वाङको शव भोलिसम्म श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने

काठमाडौं, २६ भदौ – नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शव भोलि (बुधबार) सम्म नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ । श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा लैजाने तयारी भइरहेको इलाम क्षेत्र नं. १ का सांसद् महेश बस्नेतले बताए ।

पूर्वसभामुख समेत रहेका नेम्वाङलाई राति १ बजे हृदयघात भएको थियो । त्रिवि शिक्षण अस्पताल पुर्‍याउने वित्तिकै चिकित्सकहरुले मृत घोषित गरेका थिए । उनको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमाले नेताहरु पनि अस्पतालमा छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु पनि अस्पतालमा छन् ।

चिकित्सकहरुका अनुसार, नेम्वाङ बाथरुममा बेहोस अवस्थामा भेटिएपछि परिवारले अस्पताल लगेका थिए । राति १ः५० बजे अस्पतालमा पुर्‍याइएपनि चिकित्सकहरुले त्यसअघि नै उनको निधन भइसकेको घोषणा गरेका थिए । नेम्वाङको शवलाई श्रद्धाञ्जलिका लागि केहिवेरपछि एमाले पार्टी कार्यालय च्यासल लगिँदैछ ।

Facebook Comments Box