रसुवाको डिम्साबाट हराएका एक किशोर घाइते अवस्थामा फेला

काठमाडौँ, १७ भदौ – गोसाइकुण्डबाट फर्किंदै गर्दा जनैपूर्णिमाको दिन रसुवाको डिम्साबाट हराएका एक किशोर घाइते अवस्थामा फेला परेका छन्। काभ्रेको भुम्लु गाउँपालिका–४ दुप्लुगाउँ घर भई हाल काठमाडौँ लाजिम्पाट बस्दै आएका १६ वर्षीय प्रवेश तामाङ शनिबार साँझ फेला परेका हुन्।

आफ्नी आमासँगै गोसाइँकुण्डबाट फर्कने क्रममा ढिम्सा क्षेत्र झरेपछि छुर्पी किन्न लाग्दा आमा छोराको दूरी फरक भई किशोर बाटो भुलेर बेपत्ता भएका थिए। मुख्य बाटो भुलेर जङ्गलको बाटो पस्दा प्रवेश हराएका थिए। उनको टाउको र शरीरमा चोटपटक भएका कारण रसुवा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

किशोरको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अमितकुमार शाहले जानकारी दिए। प्रवेश हराएको सूचना पाउनासाथ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलसमेतका सुरक्षाकर्मीले खोजीकार्य तीव्र बनाएका थिए।

ठूलोस्याफ्रु, ब्रावल, भार्खु, डिम्सालगायतका क्षेत्रमा दैनिक ८०–९० जना सुरक्षाकर्मी परिचालित भएका थिए। शनिबार धुञ्चेपारिको खोपाङ भिर इलाकाको खोल्सामा उनी फेला परेका हुन्। दुई दिनको प्रयासबाट घिस्रिँदै खोपाङ्को खोल्छाखोल्छै सडकमा पुगेका प्रवेशले सडकमा यात्रा गर्दै गरेका धुञ्चे निवासी सुशील थोक्रालाई भेटेपछि उनकै मोटरसाइकलबाट धुञ्चे पुगेका प्रहरीले जनाएको छ।

Facebook Comments Box