नेकपा एमाले ले ‘झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा’ अभियान सञ्चालन गर्ने
काठमाडौँ, १५ भदौ – नेकपा एमाले ले ‘झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा’ अभियान सञ्चालन गर्ने भएको छ। एमालेले मध्यपहाडी लोकमार्गको सुरुआत बैतडीको ‘झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङ पदयात्रा’ अभियान सञ्चालन गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
पार्टीले जनतासँग प्रत्यक्षरूपमा हातेमालो गरेर अगाडि बढ्नका लागि पदयात्रा अभियानको आयोजना गर्न लागेको उनले बताए। अभियानले मध्यपहाडी लोकमार्गमा पर्ने ठाउँका जनतालाई एमालेसँगको सम्बन्ध थप मजबुद र सुमधुर बनाउने विश्वास एमालेले लिएको छ। यसअघि एमालेले २०७४ साल फागुनमा मेची–महाकाली अभियान सञ्चालन गरेको थियो।
‘पार्टीमा बहुलता र विविधतालाई तथा संयुक्त आन्दोलनको नीतिलाई स्वीकार गरेको ऐतिहासिक ठाउँ तत्कालीन मालेको चौथो महाधिवशेन भएको सिराहाको अम्बासमा हामीले भर्खरै पार्टीको सचिवालय बैठक राखेर हामीले सम्झ्यौँ’, उनले भने, ‘त्यसैगरी नै मध्यपहाडी लोकमार्गका जनतालाई हातोमालो गरे सडकमा निकाल्न हामीले पदयात्रा अभियान सञ्चालन गर्ने निर्णय गरेको हौँ।’
मङ्सिर दोस्रो हप्तादेखि सञ्चालन हुने अभियानमा लाखौँ मानिसलाई सहभागी गराइने एमालेको तयारी छ। पदयात्राअघि बस्ने पार्टीको केन्द्रीय कमिटी बैठकले अभियानको कार्ययोजना बनाउने प्रचार विभाग प्रमुख गौतमले बताए।

