पर्यावरण संरक्षणका लागि बुङ्गमतिमा वृक्षारोपण सम्पन्न

काठमाडौँ, ९ भदौ – पर्यावरणीय सन्तुलन जोगाइराख्नका लागि वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिनु आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन ।

ललितपुर महानगरपालिका वडा नम्बर २२, रोटरी क्लब अफ पाटन र रोटरी क्लब अफ हिमालयन पाटनको संयुक्त आयोजनामा शनिबार ललितपुरको बुङ्गमतिमा आयोजित वृक्षारोपण कार्यक्रमका सहभागीहरुले वातावरण जोगाउनु सबैको साझा दायित्व भएको बताएका हुन् ।

कार्यक्रममा ललितपुर महानगरपालिका वडा नम्बर- २२ का अध्यक्ष सागर तुलाधारले पछिल्लो समय भौतिक विकासलाई मात्रै प्राथमिकता दिदा वातावरणीय विकास ओझेलमा परेको बताए ।

वातावरणीय विकासले खुशीयाली ल्याउने उल्लेख गर्दै भौतिक विकासले विनास निम्त्याउने भएकाले यसतर्फ सचेत रहनुपर्ने उनको भनाई छ । वडा अध्यक्ष तुलाधरले आफ्नो वडामा समेत भौतिक विकासका लागि योजना माग्नेहरुको संख्या धेरै भएता पनि वातावरण संरक्षण सम्बन्धीका कार्यक्रमहरुमा खासै कसैको ध्यान नगएको स्मरण गरे ।

उनले वृक्षारोपणका माध्यमबाट भूक्षय र पहिरो जस्ता प्रकोप नियन्त्रण देखि वातावरणीय सुरक्षामा सहयोग पुग्ने भएकाले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझै प्रभावकारी ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

रोटरी क्लब अफ पाटनका अध्यक्ष महेन्द्र सिंह रावलले विश्व तापमान वृद्धिका कारण उत्पन्न कठिन परिस्थितिले ठूला ठूला संकट आइरहेकाले नेपालजस्ता मुलुकले ठूलो क्षति बेहोर्नु परेको बताएका छन् ।

जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि स्थानियस्तरमा अनुकूलन सम्बन्धीका कार्यक्रमहरु नतिजामुखि बनाएर सञ्चालन गर्नु पर्ने उनको भनाई छ । रावलले वृक्षारोपणका माध्यमबाट माटोको संरक्षण गर्नुका साथै भविष्यमा धेरै लाभ मिल्ने भएकाले वातावरणीय स्वच्छतामा मदत पुग्ने किसिमका बिरुवा रोपिएको बताए ।

रोटरी क्लब अफ पाटन वातावरण समितिका संयोजक डा. खडक सिंह विस्टले रोटरीका विभिन्न ७ वटा क्षेत्र मध्ये वातावरण संरक्षण पनि पर्ने भएकाले वृक्षारोपण कार्यक्रम गरिएको जानकारी दिए ।

विस्टले आफूहरुले वार्षिक रुपमा वातावरण संरक्षणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्दै आएको बताएका छन । यस अवसरमा धुपी, कपुर, एभोकाडो, ओखर, लप्सी, चिउरी, आँप, अम्बा, अम्रिसो लगायतका फलफूल, वनस्पति र घाँस प्रजातिका बिरुवा रोपिएका हुन् ।

 

वृक्षारोपण पश्चात बिरुवाहरुको रेखदेख र संरक्षणको जिम्मेवारी स्थानियलाई दिइएको छ । बिरुवा रोपी सके पछि तिनको मलजल लगायत व्यवस्थापनमा कुनै कमी नराख्ने उनीहरुको भनाई छ । वृक्षारोपण कार्यक्रम महिलाका लागि महिला समूह बुङ्गमति, योग केन्द्र बुङ्गमतिसंगको सहकार्यमा आयोजना गरिएको हो ।

गोपाल जंग थापा

Facebook Comments Box