ट्रम्पविरुद्ध जर्जियाको चुनावमा धाँधली गरेको आरोप, मुद्दा चलाउन ग्राण्ड जुरीको सिफारिस

काठमाडौं, ३१ साउन – सन् २०२४ को राष्ट्रपति चुनाव लड्ने तयारीमा रहेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एकपछि अर्को कानूनी अड्चन आइलागेको छ । उनीमाथि पछिल्लो पटक सन् २०२० मा भएको राष्ट्रपति निर्वाचन अन्तर्गत जर्जियामा धाँधली गरेको आरोप लागेको छ । यसै वर्ष ट्रम्पमाथि लागेको यो चौथो फौजदारी अभियोग हो ।

जर्जियाको ग्राण्ड जुरीले ट्रम्पमाथि चुनावी नतिजा उल्टाउन षड्यन्त्र गरेको आरोपमा दोषी ठहर गरेको हो । ग्राण्ड जुरीले भनेको छ, ‘ट्रम्प र यस अभियोगमा आरोपी बनाइएका अन्य आरोपीहरुले चुनावमा भएको हार अस्वीकार गरे । उनीहरु जानीबुझी चुनावी परिणाम ट्रम्पको पक्षमा गैरकानुनी रुपले बदल्ने षडयन्त्रमा संलग्न भए ।’

अमेरिकी मिडिया रिपोर्ट अनुसार फुल्टन काउन्टी जिल्लाका महान्यायाधिवक्ता फानी विलिसले विगत दुई वर्षदेखि ट्रम्पमाथि लागेको आरोपमा अनुसन्धान गर्दै आएका थिए । उनले गत सोमबार राति अबेर पत्रकार सम्मेलन गरी ट्रम्प र उनका सहयोगी १८ जना निर्वाचन परिणाम उल्टाउने षडयन्त्रमा संलग्न भएको भन्दै एकसाथ मुद्दा चलाउन सिफारिस गरिएको बताए । ट्रम्पले भने आफूमाथि लागेका आरोपहरु अस्वीकार गर्दै आएका छन् ।

Facebook Comments Box