जिल्ला अदालत काठमाडौंले सांसद सुनिल शर्मालाई थुनामा नराखी अनुसन्धान गर्न आदेश
काठमाडौँ, २६ साउन – जिल्ला अदालत काठमाडौंले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामा नराखी अनुसन्धान गर्न आदेश दिएको छ। न्यायाधीश दण्डपाणि शर्माको इजलासले सांसद शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धान अघि बढाउन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईब) लाई आदेश दिएको हो।
शैक्षिक प्रमाण पत्र किर्ते आरोपमा बिहीबार काठमाडौंको गल्फुटारबाट पक्राउ परेका उनलाई सीआईबीले सरकारी वकिलको कार्यालयमार्फत शक्रबार जिल्ला अदालतमा उपस्थित गराएको थियो।
तर सीआईबीले माग गरेअनुसार शर्मालाई थुनामा राख्नुनपर्ने निष्कर्षसहित न्यायाधीश शर्माले यस्तो आदेश दिएका हुन्। शर्मासहित उक्त प्रकरणमा पक्राउ परेका अन्य डाक्टरहरुलाई पनि जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेस गरेको थियो।
यो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई दिनमा ८ जनालाई पक्राउ गरेको थियो। अदालतले यो प्रकरणमा पक्राउ परेका पाँच डाक्टरलाई भने हिरासतमा राख्ने अनुमति दिएको छ।
डा रामबाबु यादव, डा रञ्जित यादव, डा एलिना साह र डा अमित चौधरीलाई अदालतले हिरासतमा राख्न अनुमति दिएको हो। उनीहरू विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत रहेका थिए।
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पछिल्लो पटक शुक्रबार सुमेरु सिटी हस्पिटलमा कार्यरत ‘डा.’ पुनम थापा चौधरीलाई पक्राउ गरिएको थियो।नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ पर्ने ‘डाक्टर’को संख्या ७ थियो।
यसअघि नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा डाक्टर बनेको आरोपमा मनित चौधरी, श्रद्धा शिल्पकार, रामबाबु यादव, रञ्जित यादव, एलिना साह र अमित चौधरी पक्राउ परेक थिए।

