कांग्रेस र माओवादी कोशीका सभामुखलाई राजीनामा गराएर निकास खोज्न सहमति नजिक

काठमाडौं, १३ साउन – नेपाली कांग्रेस र माओवादी केन्द्र कोशीका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर निकास खोज्न सहमति नजिक पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान दुई दलका नेताबीच छलफल भएको थियो ।

‘कोशीका सभामुख गौतमलाई राजीनामा गर्न लगाएर नयाँ सरकार बनाउनु नै उत्तम विकल्प हुनेमा दुई दल सहमति नजिक पुगेका छन् । सभामुखले राजीनामा गरेर सरकार बनाउने कुरामा छलफल भएको छ । राजीनामा गराएर नै ४७ पुर्‍याउनु पर्छ भन्ने भएको छ,’ बालुवाटार स्रोतले जानकारी दियो ।

सभामुखलाई राजीनामा गराएपछि मुख्यमन्त्री कसलाई बनाउने विषयमा बारेमा भने छलफलले निष्कर्ष निकाल्न सकेन । कांग्रेसका उद्धव थापालाई नै मुख्यमन्त्री बनाउने कि नयाँ व्यक्ति अघि सार्ने कुरामा सहमति बन्न सकेको छैन ।

‘उद्धव थापालाई नै बनाउने कि अर्को व्यक्ति बनाउने टुंगो लाग्न सकेन,’ बालुवाटार स्रोतले भन्यो । मुख्यमन्त्रीभन्दा पनि छलफलमा संख्याको बारेमा कुरा भएको स्रोतको भनाइ छ । मुख्यमन्त्रीको सन्दर्भमा पुन छलफल गर्ने सहमति बनेको छ ।

साथै, बैठकमा राप्रपासँग पनि कोशी सरकारको बारेमा छलफल गर्ने कुरा भएको छ । थप छलफलका लागि आज पुन: वा भोलि बैठक बस्ने नेताहरूबीच सहमति बनेको छ । आज भोलि नै राप्रपासँग पनि छलफल गरिने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उप सभापति पूर्णबहादुुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, नेता कृष्णप्रसाद सिटौलालगायत सहभागी थिए ।

अदालतले गठबन्धनबाट मुख्यमन्त्री बनेका थापालाई पदमुक्त गरेपछि नयाँ सरकार बनाउन आह्वान भएको छ । गठबन्धनलाई बहुमत संख्या ४७ पुर्‍याउन सभामुखलाई राजीनामा गराएर मात्रै सम्भव छ

Facebook Comments Box