कर्णालीमा लम्पी स्किनको महामारी, हजाराै पशुकाे मृत्यु

सुर्खेत, २१ असार –  ठाटीकाँध गाउँपालिका–१ का कालु विकको एक हल गोरु थियो । खेती लगाउने सिजन सुरु हुन लाग्दा वैशाख दोस्रो सातातिर एउटा गोरु एक्कासि बिरामी पर्यो । सुरुमा उनले के भएको भन्ने पत्तो नै पाएनन् । रेडियोमा गाई, गोरुमा लम्पी स्किन नामक रोगको सङ्क्रमण फैलिरहेको सूचना सुने ।

गाउँमा रोगबाट बचाउने न कुनै उपचार थियो, न उनलाई जानकारी नै । उनको एउटा गोरुको मृत्यु भयो । ‘मानो रोपेर मुरी उब्जाउने बेला खेती लगाउने गोरु नै मर्यो,’ उनले भने, ‘आर्थिक अवस्था कमजोर, त्यसमा पनि खेती लगाउने बेला गोरु म¥यो, ऋण गरेर अर्को गोरु किन्नुपर्यो ।’

उनी मात्र होइन, सोही ठाउँमा जीरबहादुर शाहीको पनि एउटा गोरु म¥यो । खेती गर्ने सिजनमै एउटा गोरु मरेपछि २४ हजार खर्च गरेर अर्को गोरु किन्नुपर्यो । यी त केही उदाहरणमात्र हुन् । लम्पी स्किन रोगको सङ्क्रमणबाट कर्णालीमा ७ हजार ६३२ पशुको मृत्यु भएको छ । १० जिल्लामा गरी २ लाख ७ हजार २७३ वटा चौपायामा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ ।

सङ्क्रमित हुनेमा २८२ चौँरी, २ हजार ३९१ भैँसी, १ लाख १६ हजार ४१४ गोरु, ४५ हजार १३० गाई र ४२ हजार ५०६ बाच्छा बाच्छी छन् । विशेष गरी गोरुमा रोगको प्रकोप बढी देखिएका कारण किसानलाई समस्या भएको छ । बर्खे खेती लगाउने समयमा गोरुमा लम्पी स्किनको सङ्क्रमण बढेपछि खेती लगाउन समस्या भएको किसानहरू बताउँछन् । कृषक शाही भन्छन्, ‘रोग लागेका गोरुले त हलो जोत्न पनि सक्दैनन् । निकै समस्या भयो ।’

कर्णालीमा लम्पी स्किन रोगका कारण ४ हजार २६४ वटा गोरुको मृत्यु भएको छ । यस्तै एक हजार ८७१ गाई, एक हजार २४७ बाच्छा÷बाच्छी, २४९ भैँसी र दुई वटा चौँरीको मृत्यु भएको प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

लम्पी स्किन रोगबाट सबैभन्दा बढी दैलेख, जाजरकोट, हुम्ला र सल्यान जिल्ला प्रभावित भएको छ । दैलेखमा ७४ हजार ३१५ वटा पशुमा रोगको सङ्क्रमण देखिएको छ । जसमा ४७४ वटा पशुको मृत्यु भइसकेको छ । जाजरकोटमा २ हजार ४३० वटा पशुको मृत्यु भएको छ । यस्तै हुम्लामा १ हजार ४६६, सल्यानमा १ हजार १३, सुर्खेतमा १ हजार २८ पशुको मृत्यु भएको छ ।

सङ्क्रमण दैलेख, सल्यान, सुर्खेत, रुकुम पश्चिम, हुम्ला, जाजरकोटमा बढी देखिएको छ । चौँरी विशेष गरी कर्णालीका हिमाली जिल्लामा पाइन्छ । डोल्पामा २ वटा चौँरीको मृत्यु भएको छ भने डोल्पामै ३१ वटा र जुम्लामा १६० वटा चौँरीमा लम्पी स्किनको सङ्क्रमण देखिएको छ ।

कर्णालीमा रोगको सङ्क्रमित पशु बस्तुको आधारमा मृत्युदर ३ दशमलव ६८ प्रतिशत रहेको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव राजु भुजले बताए । कर्णालीमा सबैभन्दा पहिला सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र चिङ्गाड गाउँपालिकाको विभिन्न क्षेत्रका गाई, गोरुमा समस्या देखिएको थियो ।

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट ती क्षेत्रका शङ्कास्पद पशु चौपायाको सिरम र छालाको भागका नमुना सङ्कलन गरिएको थियो । २५ चैत्र ०७९ मा उक्त नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पठाइएको थियो । परीक्षण गर्दा सबै नमुना लम्पी स्किन रोग पोजेटिभ देखिएको निमित्त सचिव भुज बताउँछन् ।

त्यसपछि सल्यानमा रोग फैलियो र पशु बस्तुको मृत्यु हुने क्रम सुरु भएको थियो । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पशुपन्छी विकास महाशाखाका पशु विकास अधिकृत प्रचण्ड खड्काको नेतृत्वमा विशेषज्ञको टोली सल्यान पुगेको थियो । त्यहाँ रोगबारे जनचेतनामूलक कार्यक्रम गरे पनि औषधि पत्ता नलागेका कारण सङ्क्रमण दर दिन प्रतिदिन बढ्यो । मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये १ लाख २५ हजार ९१ वटा पशु बस्तुको उपचार गरिएको थियो ।

Facebook Comments Box